

सुबास नेपाली ,बैशाख १९, अछाम :अछामको बुढीगंगा नदिमा मनसुन जन्य विपदको उद्धार सम्बन्धी “अभ्यास मनसुन-५” कृतिम घटना अभ्यास गरिएको छ।
अछाम स्थित नेपाली सेनाको गोरख बक्स गण मंगलसेन व्यारेक, जिल्ला प्रहरी कार्यालय,अछाम सशस्त्र प्रहरी नं.४९ गुल्म, साँफेबगर नगरपालिकाको संयुक्त आयोजना साथै जिल्ला अस्पताल अछाम, न्याय हेल्थ अस्पताल बयलपाटा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामको सहकार्यमा मनसुन जन्य विपदको उद्धार सम्बन्धी “अभ्यास मनसुन-५”कृतिम घटना अभ्यास गरिएको हो।
मनसुनको पुर्व सन्ध्यामा विपद सम्बन्धि हुन सक्ने घटनाहरुमा बाढी, पहिरो लगायतका घटनामा परेकाहरुको हाई लाइन रेस्क्यु, अष्ट्रेलियन र्याप्लीङ , अपर वाटर रोप बृज,रबर बोट तथा ईम्प्रोभाईज बोटको प्रयोग गरी खोज तथा उद्दार सम्बन्धी डेमोस्ट्रेशन सञ्चालन गरिएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताउनु भयो।
कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख शिव बहादुर कुँवरले मनसुनले वर्षेनी ठूलो जनधनको क्षेती हुने गरेको र मनसुन भित्रीनु अगावै गरिएका यस्ता क्रियाकलापले नागरिकहरुमा सतर्कता अपनाउन र क्षेती कम गर्न सहयोग पुग्नुका साथै सेनाले गर्दै आएको अभियान प्रभावकारी भएको बताए।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुले विपद जुनसुकै समयमा आउन सक्ने भएका कारण यस्ता कार्यक्रमहरुले बिपदका घटना बाट हुने क्षेती कम गर्न ठूलो सहयोग पुग्ने बताए ।
त्यसै गरि श्री गोरख बक्स गणको आयोजनामा विपद् जोखिम न्युनिकरण प्रतिकार्य अन्तरगत सेनानी अमृत खड्काको कमाण्डमा गएको १/३९ को Mobile Disaster Training Team ले ३ वटा नगरपालिका र ६ वटा गाँउपालिकाहरुमा २०८१।११।२२ गतेदेखी २०८१।१२।२९ गतेसम्म “अभ्यास वैद्यनाथ” प्रशिक्षण तथा डेमोस्ट्रेशन संचालन गरेको थियो।आगमी दिनमा समेत यस्ता अभ्यासहरु संचालन गरिने छ।
“अभ्यास मनसुन ५” अन्तर्गत साँफेबगर स्थित नगरपालिकाको सभाहलमा स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न निकायका व्यक्तिहरु र स्थानिय जनता, शिक्षक तथा विद्यार्थी गरी करिब ७० जनालाई सहभागी गराई सेनानी अमृत खड्काले विपद् व्यवस्थापन जोखिम न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण संचालन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्यक्षतमा भएको मनसुन जन्य विपदको उद्धार सम्बन्धी कृतिम अभ्यास प्रदशर्न कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता सोडारी, तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष विमला शाही, ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाही, जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारी, सशस्त्र प्रहरी बल नेपाल नं.४९ गुल्म हेडक्वाटर खप्तड अछामका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक नर बहादुर शाही, राष्ट्रिय अनुसन्धान कार्यालयका दिल बहादुर चौधरी लगाएत जनप्रतिनिधि, स्थानीय, शिक्षक तथा बिद्यार्थीहरु उपस्थिति रहेको थियो ।
आज भएको कार्यक्रममा संचालन भएको साँफेबगर न.पा.का करिब सात सय बढीको संख्यामा सहभागी स्थानीयले सेनाको कृतिम अभ्यासलाई चाँसोका साथ अवलोकन गरेका थिए ।
