

एकेन्द्र चन्द ,असोज १६,डोटी : डोटीको बडीकेदार गाउँपालिकामा विद्यालय बाहिर रहेका बालबालिका तथा विद्यार्थीहरूको अवस्था पहिचान, उनीहरूका समस्या तथा गुनासा सुन्ने र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ‘एजुकेसन पेजेस’ कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकाको शैक्षिक अवस्था, उनीहरूले भोगिरहेका समस्या, अभिभावकका गुनासा तथा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। साथै, बालबालिकाको स्वास्थ्य परीक्षण तथा आवश्यक सेवामा पहुँचका विषयमा समेत सहजीकरण गरिएको आयोजकले जनाएको छ।

सहभागीहरूले विद्यालय बाहिर रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई पुनः शिक्षाको पहुँचमा ल्याउन आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण प्रदेश फिल्ड संयोजक गोकुल खड्काले गर्नुभएको थियो। उहाँले विद्यालय बाहिर रहेका बालबालिकाका समस्या पहिचान गरी शिक्षा, स्वास्थ्यलगायत आवश्यक सेवासँग जोड्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलसहित सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।
