

असोज ८, डोटी : डोटीमा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि १२ बुँदे निर्णय गरिएको छ। भारी वर्षाको पूर्वानुमानपछि जिल्लाका स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको हो।
बुधबार जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहको अध्यक्षतामा बसेको समन्वय बैठकले सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न १२ बुँदे निर्णय गरेको हो।
जल तथा मौसम विज्ञान विभागको मौसमी विश्लेषण तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ गतेदेखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउने निर्णय गरिएको जिल्ला समन्वय प्रमुख सिंहले बताए।
बैठकले स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र (LEOC) लाई पूर्ण रूपमा सक्रिय राखी विपद्सम्बन्धी सूचना तत्काल संकलन, विश्लेषण तथा सम्बन्धित निकायमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
सम्भावित विपद्का घटनामा तत्काल खोज तथा उद्धारका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायले उपलब्ध जनशक्ति, खोज तथा उद्धार सामग्री र उपकरण तयारी अवस्थामा राख्ने निर्णयसमेत गरिएको छ।
त्यस्तै, बाढी, पहिरो, डुबान तथा कटानको जोखिममा रहेका बस्ती, सडकखण्ड, नदी तथा खोलाका किनारालगायत जोखिमयुक्त क्षेत्रको पहिचान गरी स्थानीय तह र सुरक्षा निकायले निरन्तर निगरानी गर्ने निर्णय भएको छ।
भारी वर्षा तथा सम्भावित विपद्का विषयमा नागरिकलाई समयमै सूचना तथा सावधानीका सन्देश प्रवाह गर्ने, नदी, खोला तथा जलाशयको पानीको सतह नियमित निगरानी गर्ने र पानीको सतह असामान्य रूपमा बढेमा सम्बन्धित निकाय तथा स्थानीय समुदायलाई तत्काल जानकारी गराउने निर्णय गरिएको छ।

भारी वर्षाका कारण पहिरो, सडक अवरोध तथा यातायातमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै जिल्लाका प्रमुख तथा जोखिमयुक्त सडकखण्डको नियमित अनुगमन गर्ने र सडक अवरुद्ध भए तत्काल खुलाउने व्यवस्था मिलाउने निर्णय गरिएको छ। अत्यधिक जोखिम देखिएमा आवश्यक सुरक्षा सतर्कता अपनाइने जनाइएको छ।
स्थानीय तह तथा सुरक्षा निकायमा उपलब्ध विपद् उद्धार तथा राहत सामग्रीको अवस्था यकिन गरी आवश्यक सामग्री तयारी अवस्थामा राख्ने र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र (LEOC), सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच निरन्तर सम्पर्क र समन्वय कायम राख्ने निर्णयसमेत गरिएको छ।
सम्भावित प्रतिकूल मौसम तथा विपद्को जोखिममा रहेका विद्यालय तथा सार्वजनिक संस्थाले आवश्यक सुरक्षा सतर्कता अपनाउने र सम्बन्धित स्थानीय तह तथा निकायले आवश्यक समन्वय गर्ने निर्णय भएको छ।
विपद्को समयमा तत्काल सूचना प्राप्त तथा उद्धार कार्यमा समन्वय गर्न स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा तथा अन्य सम्बन्धित निकायका सम्पर्क व्यक्तिको विवरण अद्यावधिक गरी आवश्यक परेको अवस्थामा तत्काल परिचालन हुने व्यवस्था मिलाउने निर्णय गरिएको प्रजिअ नेपालले बताइन्।
सम्भावित विपद्बाट प्रभावित हुनसक्ने नागरिकका लागि तत्काल राहत, अस्थायी आश्रय, खानेपानी, खाद्यान्न तथा स्वास्थ्य उपचारलगायत अत्यावश्यक सेवाको व्यवस्था गर्न सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायले पूर्वतयारी गर्ने निर्णय गरिएको छ।

बैठकमा भैरव प्रसाद गणले डुबानको दृष्टिले संवेदनशील क्षेत्र तथा सम्भावित जोखिमका अवस्थामा नागरिकलाई स्थानान्तरण गर्न छनोट गरिएका स्थानबारे समेत जानकारी गराएको थियो।
बैठकमा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारलगायतको उपस्थिति थियो।
त्यस्तै जिल्ला प्रशासन कार्यालय डोटीले बिहीबार सूचना जारी गर्दै लगातारको वर्षाका कारण नदी-खोलामा बाढी, भिरालो जमिनमा पहिरो र होचा भू-भागमा डुबानको उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ।

