धनगढीमा आज सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारी गर्न सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरुरी रहेको उल्लेख गर्नुहुँदै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नु पर्नेमा जोड्दिनुभयो ।
उहाँले शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा अपराध नियन्त्रण, विपद व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुहुँदै त्यसका लागि सवैका विचमा समन्वय जरुरी रहेको बताउनु भयो ।
गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश छिमेकी मुलुक चिन र भारतसँग जोडिएको छ, सुरक्षा संवेदनशील छ, त्यसैले सीमा सुरक्षा, लागुऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप सुदृढ तुल्याउन आवश्यक छ, भन्नुभयो ।
उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन बनाएर संसद्मा प्रवेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताउनु भयो ।
गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, गृह सचिव गोकर्णमणि दवाडी, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको छ । गोष्ठीमा प्रदेशको नौ वटै जिल्लाको सुरक्षा अवस्था तथा रणनीति लगायतबारे छलफल हुने बताइएको छ ।