प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सुक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको हो। घटनाको विषमा अध्ययन गर्न धनगढीबाट कुकुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमाण्डमा प्रहरी टोली घटना स्थलमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताए।
कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका–१ बिनबारीका स्थानीय बडायकदम्पती रमेश (रामेश्वर) बडायक र कमला बडायकको धारिलो हतियार प्रहरी गरी हत्या गरिएको छ। शुक्रबार बिहान रामेश्वर बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका छन्। विहिबारराति उनीहरूको हत्या भएको प्रहरीको आशंका छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बिनबारीका ४६ वर्षीया रमेश बडायक र ४३ वर्षीया उनकी श्रीमती कमला बडायक मृत फेला परेको बताए। ‘उनीहरूको शरीरमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ,’ उनले भने, ‘अहिले नै हत्या वा के कारणले भयो भन्नेबारेमा भन्न सकिने अवस्था छैन, तर प्रहरीले अनुसन्धान गरिरहेको छ।’
हत्यारा समूहको पहिचान गर्न धनगढीबाट कुकुर घटनास्थलमा पठाइसकिएको प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी शाहीले जानकारी गराए। बडायकदम्पतीका एक छोरा भारत र अर्का छोरा स्वदेशमै छन्। बडायकदम्पतीको हत्यासँगै गाउँमा त्रास बढेको छ। डीएसपी शाहीका अनुसार अध्ययनका लागि कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएकाले हत्या वा आत्महत्या अहिले नै घटनाको विषयमा एकीनका साथ भन्न सकिने अवस्था छैन्। सुक्ष्म रुपमा यसको अनुसन्धान भइरहेको छ।- दिनेश खबर