Sujang

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी

Ban

बाजुरा : दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले शनिबार पहिलो चरणमा मार्तडी डिपोमा दुई सय क्विन्टल जिरा मसिनो चामल ढुवानी गरिएको जानकारी दिए । जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिएपछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।

Krishi

उनले ढुवानी गरिएको चामल आजदेखि प्रतिकिलो रु ९२ मा बिक्री हुने बताए । बजारमा मसिना चामलको रु ९५ मा पर्ने जनाइएको छ । मार्तडीको गोदाममा चामल सकिएपछि गत भदौ २४ गते एक सूचना जारी गर्दै गोदाममा ताला लगाइएको थियो ।

मार्तडीमा रहेको शाखा कार्यालयमा चामल पुगे पनि अन्य अस्थायी बिक्री केन्द्र र डिपोमा भने चामल अभाव रहेको स्थानीयले बताएका छन् । कोल्टी डिपोमा भने दुई सय क्विन्टल मौज्दात चामल रहेको बताइएको छ । मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकतानुसार थप चामल आउने र अन्य बिक्री केन्द्रमा भने ठेक्का प्रक्रिया पूरा भएपछि मात्र चामल ढुवानी हुने बताइएको छ । ठेक्का प्रक्रियाको अहिलेसम्म कुनै टुङ्गो नभएको पनि प्रमुख ओझाले बताए।

सुदूुरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो भने चालु वर्षका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएकामा हाल दुई सय क्विन्टल आएको छ । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले धमाधम चाडपर्वको मुखमा पछि स्वीकृत गराउने गरी बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र दार्चुलालगायतका जिल्लामा चामल ढुवानी गरिरहेको छ ।-रासस

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.