कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ
कञ्चनपुरका दुई छुट्टाछुट्टै ठाउँबाट प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारबाट प्रहरीले करिब ६२ ग्राम अवैध लागू औषध खैरो हिरोइन सहित भारतको लखिमपुर खिरी पलिया घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ डेरा गरी बस्ने १९ वर्षीय सानु अन्सारीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका अन्सारीलाई जाँच गर्ने क्रममा उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी गस्ती टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउँबाट अवैध लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने अविशेक गुरुङले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकल शङ्का लागि चेकजाँच गर्दा सोही मोटरसाइकलमा सवार २१ वर्षीय आशिष् छिनाल र २२ वर्षीय जीवन कार्कीको साथबाट डाईजेफम १९ सिसी, रेस्कोजेसिक ९६ सिसी, फेनारगन ९६ पिस गरी जम्मा २११ पिस फेला पारी उक्त लागु औषध र मोटरसाइकल सहित तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ ।
दुवै स्थानबाट पक्राउ गरिएका चारै जनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत राज गिरीले जानकारी दिए ।