Sujang

डडेल्धुरामा कृषि आत्मनिर्भरताका लागि रैथाने बालीको ब्रान्डिङमा जोड

Ban

असार १८ गते ,डडेल्धुरा : ​सुदूरपश्चिमको कृषि क्षेत्रमा व्यवसायीकरण र आत्मनिर्भरताको लक्ष्य बोकेको ‘उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम’ मा बिहीबार कृषि ज्ञान केन्द्र, डडेल्धुरामा आयोजित सरोकारवालाहरूको समन्वय बैठकमा बोल्दै कार्यक्रमका प्रमुख तथा अध्यक्ष गंगा दत्त अवस्थीले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा हुने बैठकमा स्थानीय परिकार खुवाउने व्यवस्था अनिवार्य गरिनुपर्ने विषयमा जोड दिनुभएको छ।

​कार्यालय प्रमुख अवस्थीले सरकारी संयन्त्रले नै स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदासम्म कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य अधुरो रहने बताउनुभयो। उहाँले बाह्य तयारी खाजाको विकल्पमा कोदो, फापर, मकै, भटमास र स्थानीय फलफूलजस्ता रैथाने बालीको प्रयोगमा जोड दिनुभएको छ। अवस्थीका अनुसार रैथाने बालीको संरक्षण र किसानलाई आर्थिक सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ। बैठकमा जिल्ला समन्वय प्रमुख गगन सिंह भण्डारी, अमरगढी नगरपालिकाकी उपप्रमुख पार्वती झुकाल, प्रमुख जिल्ला अधिकारी अमर ओली, अग्रज कृषक तथा सरोकारवालाहरूको उपस्थिति थियो।

Krishi

​नेपाल सरकार र अन्तर्राष्ट्रिय कृषि विकास कोषको साझेदारीमा सञ्चालित यो कार्यक्रमले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र बजारमुखी बनाउने लक्ष्य लिएको छ। हाल डडेल्धुराका दुई पालिका, अजयमेरु र नवदुर्गामा केन्द्रित रहेको यस कार्यक्रमले साना किसान र पशुपालकहरूको जीवनस्तर उकास्न उत्पादनदेखि बजारीकरणसम्मको मूल्य शृङ्खला विकासमा सहजीकरण गरिरहेको छ। आधुनिक प्रविधि, साना सिँचाइ र सङ्कलन केन्द्रहरूको स्थापनामार्फत किसानलाई बजारसँग जोड्नु यसको प्रमुख उद्देश्य रहेको प्रमुख अवस्थीको भनाइ छ।

​उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम आर्थिक वर्ष २०८१/८२ देखि २०८९/९० सम्म, गरी ८ वर्षको अवधिका लागि तर्जुमा गरिएको एक बृहत् आयोजना हो। यो कार्यक्रम लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका गरी ८० वटा स्थानीय तहमा सञ्चालन भइरहेको छ। कार्यक्रमले गरिब साना किसान, उत्पादक संस्थाहरू र लघु, घरेलु तथा साना उद्योगहरूलाई समेटेर उत्पादन क्षमता अभिवृद्धि गर्ने, पूर्वाधार विकास गर्ने र बजार पहुँच बढाउने कार्य गरिरहेको छ।

​परम्परागत खेती प्रणालीलाई उच्च नाफामूलक र पर्यावरणीय कृषि खाद्य प्रणालीमा रूपान्तरण गर्न कार्यक्रम प्रतिबद्ध रहेको उहाँको भनाइ छ। उहाँले विशेष गरी महिला र युवाहरूको सहभागितालाई प्राथमिकता दिँदै यो कार्यक्रमले आयातित खाद्य सामग्रीमाथिको निर्भरता घटाउने र स्थानीय अर्थतन्त्रलाई स्वावलम्बी बनाउने महत्त्वपूर्ण जग निर्माण गरिरहेको बताउनुभयो।

सरकारी बैठकहरूमा स्थानीय परिकारको अनिवार्य उपभोगको यो विषयले डडेल्धुराको स्थानीय कृषि अर्थतन्त्र चलायमान हुने विश्वास गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.