

सुबास नेपाली,कार्तिक १४ गते डोटी : दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डोटीमा जिल्ला छनोट प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यसहित डोटी जिल्ला खेलकुद समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना गरिएको दशौँ राष्ट्रिय खेलकुद डोटी जिल्ला छनोट प्रतियोगिता २०८३ कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन डोटी जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख हर्क बोगटीले जानकारी दिनुभयो ।

छनौट प्रतियोगिताको उदघाटन गर्दै दिपायल सिलगढी नगरपालिका वडा नं६ का वडा अध्यक्ष नरेश मलासीले प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभालाई राष्ट्रियस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नु भयो।
प्रतियोगितामार्फत जिल्लाभित्र रहेका प्रतिभाशाली खेलाडीको पहिचान गरी प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि योग्य खेलाडी छनोट गरिने समितिका अध्यक्ष वीर बहादुर खड्काले बताउनुभयो । जिल्ला छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने पनि उहाले बताउनुभयो ।
खेलकुद प्रतियोगिताले जिल्लाका युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने समितिका उपाध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो ।
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने तयारी छ। प्रतियोगितामा देशभरका खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा जिल्ला छनोट प्रतियोगिता सञ्चालन गरी प्रदेशस्तरीय छनोटका लागि खेलाडीको नामावली पठाउने तयारी गरिएको छ।
