


डोटी, असार २८ : ड्युटीकै क्रममा अचानक बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ।
कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरमा दरबन्दी भई हाल डोटीको पुर्बीचौकीमा रहेको ईलाका प्रहरीचौकी सानागाउँमा कार्यरत प्रहरी जवान जोशीको आज बिहान कैलालीको गोदावरी नगरपालिका–अत्तरियास्थित अत्तरिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डडेल्धुराको जोगबुडा घर भएका जोशी असार २७ गते राति प्रहरी चौकीअगाडिको इन्ट्री पोस्टमा ड्युटीमा रहेका बेला अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको थियो। जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो।
उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युको यथार्थ कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि शव आफन्तले बुझिसकेका छन् भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ।

