


सहजपुर, फागुन २४- “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल सन्देशका साथ ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस चुरे गाउँपालिका र वडा नम्बर ३ को संयुक्त आयोजनामा सहजपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष धना थापाले समाजको विकास र समृद्धिका लागि महिलाको सक्रिय सहभागिता र सशक्तिकरण अत्यन्त आवश्यक रहेको बताइन्। उनले अझै पनि समाजमा महिला हिंसा, विभेद र असमानता कायम रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि राज्य, स्थानीय तह र समुदाय सबै मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अगुवा तथा अधिकारकर्मीहरूले महिलाको नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर विस्तार गर्न आवश्यक रहेको औँल्याएका थिए।
वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र खडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकार तथा समानताका विषयमा विभिन्न वक्ताहरूले धारणा राखेका थिए। सो अवसरमा एसईई आइडल सविता लामा र भलिबल खेलाडी दीक्षा जोशीलाई प्रमुख अतिथि उपाध्यक्ष धना थापाले सम्मान गरेकी थिइन्।
कार्यक्रममा खड्का सुनारी स्वास्थ्य आमा समूह, गुलाब स्वास्थ्य आमा समूह, लाली गुराँस आमा समूह, भगवती स्वास्थ्य आमा समूह, जनजागृति स्वास्थ्य आमा समूह, आदर्श स्वास्थ्य आमा समूह र जनचेतना स्वास्थ्य आमा समूहलाई गाउँपालिकाको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रमले वातावरण थप उत्साहपूर्ण बनेको थियो।

