

कैलाश विक्रम शाही
स्वच्छ र स्वस्थ वातावरणमा बस्ने चाहना सबै मानवको मौलिक आवश्यकता हो। तर आज फोहर व्यवस्थापन हाम्रो दैनन्दिन जीवनकै गम्भीर चुनौती बनेको छ। मानव सभ्यताको विकाससँगै फोहरमैलाको सुरुआत भए पनि त्यतिबेला जस्तो अहिले समस्या जटिल र बहुआयामिक थिएन। विशेषगरी ग्रामीण क्षेत्रमा जैविक फोहरलाई पशु–चौपायालाई खुवाउने वा कम्पोस्ट मल बनाउने परम्पराले त्यहाँको फोहर व्यवस्थापन सहज थियो। तर सहर विस्तार, उपभोग्य वस्तुहरूको वृद्धि र प्लास्टिकजन्य फोहोरको अत्यधिक प्रयोगसँगै सहरी फोहर व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको छ।
अतीतमा सहरका फोहर खोला किनारमा फाल्ने प्रचलन थियो। तर नगरपालिकाको अवधारणा विकाससँगै फोहर व्यवस्थापन स्थानीय तहको औपचारिक जिम्मेवारी बन्यो। समयसँगै विदेशी दातृ निकायहरूको प्रवेश, विभिन्न परियोजना र योजनाको असमन्वय, राजनीतिक परिवर्तन र त्यसले ल्याएको कर्मचारी फेरबदलले फोहर व्यवस्थापन प्रणालीलाई अस्तव्यस्त बनाएको छ। यसको दीर्घकालीन परिणाम अहिले काठमाडौँ उपत्यकाले बारम्बार झेलिरहेको फोहर सङ्कटका रूपमा प्रकट भइरहेको छ।
एकातिर विकसित स्केन्डिनेभियन मुलुकहरूले फोहरलाई नै ऊर्जा तथा आम्दानीको महत्वपूर्ण स्रोत बनाइरहेका छन्। स्विडेनजस्ता मुलुकहरू अरु देशबाट फोहर नै खरिद गरेर ऊर्जा उत्पादन गर्छन्, जबकि हामी अझै डम्पसाइट व्यवस्थापनमै अल्झिरहेका छौँ। न त आधुनिक इन्सिनेरेटर स्थापना भएको छ, न त दिगो व्यवस्थापनको दृष्टि विकसित भएको छ। प्रश्न उठ्छ—के नेपालले ती देशबाट सिक्न सक्दैन?
फोहर व्यवस्थापन सम्बन्धी कानुन, नीति, योजना र संरचनाहरू भए पनि व्यवहारिक रुपमा फोहर संकलन गर्ने सरसफाईकर्मीहरूको अवस्था भने अत्यन्त कठिन छ। शहर सफा राख्ने दैनन्दिन मेहनत उनीहरूले गर्दा भए पनि उनीहरूको समस्यालाई राज्य वा समाजबाट उचित ध्यान प्राप्त हुन सकेको छैन।
१. स्वास्थ्य तथा सुरक्षा जोखिम
फोहरमैला उठाउने काम गर्दै आएका सरसफाईकर्मीहरू सबैभन्दा बढी स्वास्थ्य जोखिममा छन्।
– पन्जा, मास्क, जुत्ता, हेल्मेट जस्ता आधारभूत सुरक्षासामग्री पर्याप्त हुँदैन।
– धारिलो बस्तु, चिसो–सिसा, सुई–सिरिन्ज, रसायनयुक्त तथा अस्पताल फोहोरको प्रत्यक्ष सम्पर्क।
– धूलो, धुवाँ, विषाक्त ग्यास र प्लास्टिक जलाउँदा निस्किने जहरीला धुवाँको निरन्तर सामना।
– डम्पसाइटबाट निस्किने मिथेन जस्ता ग्यासले दीर्घकालीन श्वासप्रश्वास समस्या निम्त्याउँछ।
– मनसुनमा डम्पसाइट पहिरोको खतरा र अत्यधिक गर्मी–चिसोमा पनि काम गर्नुपर्ने बाध्यता।
स्वास्थ्य जोखिमसँगै नियमित अस्पताल सेवा तथा बीमा सुविधाको पहुँच नहुँदा उनीहरूको अवस्था झनै संवेदनशील बन्छ।
२. सामाजिक हेला र सम्मानको अभाव
फोहर उठाउने काम ‘हेला गर्ने’ दृष्टिले हेर्ने सामाजिक सोच अझै परिवर्तन हुन सकेको छैन।
– समाजका धेरै ठाउँमा उनीहरू बहिष्कारको शिकार हुन्छन्।
– सामुदायिक स्थान वा सेवामा पहुँचमै भेदभाव हुन्छ।
– उनीहरूको बालबालिकाले विद्यालयमा समेत धम्की र भेदभाव झेल्नुपर्छ।
सहर सफा राख्ने मूल श्रमशक्ति भएर पनि उनीहरूलाई उचित सम्मान, पहिचान तथा सामाजिक मान्यता प्राप्त छैन।

३. आर्थिक असुरक्षा र बिचौलियाद्वारा शोषण
अधिकांश सरसफाईकर्मीहरूको आय अस्थिर छ।
– पुनर्चक्रणयोग्य सामग्रीको मूल्य घटेमा आम्दानी तत्काल घट्ने।
– बिचौलिया र स्क्र्याप डिलरले मूल्य कटौती गरेर शोषण गर्ने।
– बैंकिङ सेवा, बचत, सामाजिक सुरक्षा र बीमामा पहुँच न्यून।
– नियमित तलब नभएर दैनिक आम्दानीमा निर्भर रहनुपर्ने बाध्यता।
आर्थिक असुरक्षाले उनीहरूको जीवनस्तर र भविष्य दुवै अनिश्चित बनाइदिन्छ।
४. कानुनी अदृश्यता र संस्थागत समस्याहरू
नेपालका धेरैजसो फोहर कामदार अनौपचारिक रूपमा काम गर्छन्।
– नगरपालिका वा सम्बन्धित निकायमा दर्ता नहुँदा उनीहरू कानुनी रूपमा ‘अदृश्य’ हुन्छन्।
– आधिकारिक परिचयपत्र वा अनुमति नहुँदा प्रहरी तथा कर्मचारीबाट कहिलेकाहीँ दुव्र्यवहार।
– कामको स्थिरता छैन—नगरपालिका वा निजी कम्पनीको नियम परिवर्तनसँगै रोजगारी गुम्न सक्छ।
सरकारको सामाजिक सुरक्षा जालमा परेर काम गर्न नसक्दा उनीहरूले आफ्नो अधिकार र सुरक्षा दुवै गुमाइरहेका छन्।
५. जीवनयापनका कठिनाइ
फोहर संकलन गर्ने धेरै परिवार अनौपचारिक बस्तीमा बस्छन्, जहाँ—
– सफा खानेपानी छैन,
– शौचालय र सरसफाइ सुविधा न्यून,
– बिजुली तथा स्वास्थ्य सेवा अभावमा हुन्छ।
यस्ता वातावरणमा बाँच्नु स्वयम् एक चुनौती हो, जसले स्वास्थ्य र जीवनस्तर दुवैमा नकारात्मक असर गर्छ।
निष्कर्ष
नेपालमा फोहर व्यवस्थापन चुनौतीपूर्ण हुनुका धेरै कारण छन्। तर सबैभन्दा बढी बोझ बेहोर्ने भनेका यही सरसफाईकर्मीहरू हुन्, जसको श्रमले सहर सफा देखिन्छ, तर उनीहरूकै जीवन जोखिम, गरिबी, भेदभाव र असुरक्षाले भरिएको छ।
राज्य, स्थानीय तह र नागरिक सबैले सरसफाईकर्मीहरूको सम्मान, सुरक्षा र पहिचान सुनिश्चित नगरेसम्म दिगो फोहर व्यवस्थापन सम्भव छैन।
फोहर व्यवस्थापन आजको आवश्यकता मात्रै होइन, सुरक्षित र सभ्य समाजको आधार हो। यसका लागि नीति, प्रविधि र संरचना सुधार गर्नुका साथै फोहर उठाउने श्रमिकप्रति कदर, सुरक्षा र अधिकार सुनिश्चित गर्नु नै दिगो समाधानको पहिलो कदम हो।

