

चैत १० गते, डोटी :डोटी पनि बिश्व क्षयरोग दिवस मनाइएको छ ।
मंगलवार जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा के.आई. सिंह गाउँपालिकाको समन्वयमा भुमिराजमाण्डाै स्वास्थ्य चौकिमा ‘हो !हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ क्षयरोग दिवस मनाइएको हो ।
दिवसका अवसरमा जनचेतना मुलक कार्यक्रम तथा क्षयरोगी पहिचानका लागि आधुनिक प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरि शिविर सञ्चालन गरेको क्षयरोग तथा कुष्ठरोग अधिकृत सुरज खड्काले जानकारी दिए ।
स्वास्थ्यकर्मीको टोली एआई उपकरणसहित गाउँ–गाउँका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेको बताउदै आज क्षयरोग दिवसको अवसरमा भुमिराजमाण्डाैमा परिक्षण तथा जनचेतनामूलक कार्यक्रम समेत गरिएको एआईमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालनका क्याम्प संयोजक सुशीलराज जोशीले जानकारी दिए ।

जिल्लामा अहिले आर्थिक वर्ष २०७९/०८० मा १८२ जना , ०८०/०८१ मा १६८ जना र ०८१/०८२ मा १६४ जना क्षयरोगका विरामी रहेको खड्काले जानकारी दिए । अहिले जिल्ला ९६ जना क्षयरोगका विरामिले औसधि सेवन गरिरहेका जनाएको छ।
स्वास्थ्यकर्मीका अनुसार क्षयरोग समयमै पहिचान गरी नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुन सक्ने रोग हो । स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डिल्लीरमण जोशीले नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा गरिएको उनले बताए ।
मुलुकमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेका बताउँदै उनले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिएको, प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको बताए ।
क्षयरोग मानव जातिमा देखा परेका विभिन्न रोगहरुमध्ये सबैभन्दा पुरानो रोगमध्येमा पर्दछ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । यसपछि मात्र यो रोगकाबारे जनचासो बढेको र वैज्ञानिकहरूले थप अनुसन्धान गरेको पाइन्छ । यो रोग श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्ने रोगको रुपमा परिभाषित छ । त्यसैले हालसम्म यसैलाई आधार मानेर यसको पहिचान निदान र उपचार भइरहेको छ ।

