

चैत १६ गते, डोटी :नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ डोटी शाखाले स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरेको छ।

सोमवार सुजङ्ग अस्पताल राजपुर डोटीमा आयोजित कार्यक्रममा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरिएको हो ।
सुजङ्ग अस्पताल राजपुरको सहकार्यमा गरिएको नि:शुल्क स्वास्थ्य परीक्षणमा जिल्लामा क्रियाशील पत्रकारहरूको रक्तचाप, मधुमेह, युरिकेसिड जस्ता स्वास्थ्य परीक्षणहरू गरिएका थिए। यस्ता नियमित स्वास्थ्य परीक्षणले दीर्घकालीन स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्याउने अस्पताल प्रमुख अर्जुन बलायर बताए ।
यस्ता कार्यक्रमले पत्रकारहरूको स्वास्थ्य सुरक्षाका साथै स्थानीय स्तरमा रगतको अभाव कम गर्न मद्दत पुऱ्याउने उनले बताए ।
जिल्लामा रगतको अभाव भइरहेकै बेला नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा डोटीको सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रमले रक्तसञ्चार सेवालाई टेवा पुग्ने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले महासंघको स्थापना दिवसको अवसरमा महासंघका सदस्यसहित सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। अध्यक्ष बमले स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गरे ।
सात दशक लामो इतिहास बोकेको मुलुककै पुरानो अगुवा नागरिक संस्थाको रूपमा समाजमा स्थापित महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा आफूलाई समर्पित गर्दै आएको समेत उनले बताए ।
उनले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि पत्रकारहरू अझै पनि दण्डहीनता, धम्की, आक्रमण र विस्थापनको समस्यामा परेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।
अध्यक्ष बमले सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नु पत्रकारहरूको धर्म भएको उल्लेख गर्दै जनताको सही सूचना पाउने अधिकारको सुनिश्चितता र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गरे ।
कार्यक्रममा सहयोग गर्ने सुजङ्ग अस्पताल,नेपाल रेडक्रस सोसाइटी प्रति आभार व्यक्त गरे।
त्यस्तै दिवसको अवसरमा सोमबार साँझ डोटी शाखा सिलगढी स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा दीप प्रज्वलन गरेर मनाइएको सचिव विक्रम खड्का बताए ।


