कार्तिक १ गते ,बाजुरा :राष्ट्रपति रामचन्द्र पौडेलले बडीमालिका नेपालकै एक अलौकिक धरोहरका रुपमा रहेको भन्दै यस क्षेत्रको विकासका लागि सरकारले उचित लगानी गर्नुपर्ने बताएका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त रहेकोमा बडीमालिका त्यसैको एउटा रुप भएको बताए ।
बिहीबार बडीमालिका दर्शन गरेर त्यहाँ बनेको नाट्यश्वरी मन्दिरको नयाँ भवनको उद्घाटनका क्रममा राष्ट्रपति पौडेलले बडीमालिका क्षेत्रको दर्शन र अवलोकन गरेर आफूलाई स्वर्गको अनुभूति भएको बताए ।
‘बाजुरामा बडीमालिकाजस्तो ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसावले महत्वपूर्ण सम्पदा भएर पनि विकासका हिसावले पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जानु आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले त्रिवेणी नगरपालिका-७ मा बनेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उनले बडीमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए ।
‘जब मैले बडीमालिकामा उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छँटा देखेँ, मलाई म स्वर्गमा आएको महसुस भयो, मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस गरेको छु,’ उनले भने, ‘नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छँटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु।’