Sujang

डोटीको आदर्श गाउँपालिका -२ भारिकोटमा सुक्खा पहिरोको जोखिम, त्रासमा स्थानीय

Ban

प्रकाश बम,कार्तिक १२ गते डोटी : डोटीको आदर्श गाउँपालिका–२ भारिकोट टोल नजिकै गाउँमा गएको सुक्खा पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ । एक महिना अघि देखि जान सुरु भएको पहिरो नरोकिएर निरन्तर जान थालेपछि स्थानीय त्रसित बनेका छन् ।

यहीँ असोज ९ गते आएको वर्षामा पहिलो पटक सामान्य पहिरो झरेको बताउँदै स्थानीय ममता थापाले पहिरो एक महिना देखि बिस्तारै नरोकिएर अहिले सुख्खा पहिरोले बस्ती जोखिममा रहेको बताइन् । ‘असोज ९ गते देखि नै पहिरो सानो–सानो गरेर झर्न थालेको थियो। त्यसबेला नै टोल जोखिममा छ भनेर हामीले पालिकालाई ज्ञापन पत्रसमेत बुझाएका थियौ । त्यति बेला कसैले खासै वास्ता गरेनन् । तर अहिले दिनप्रतिदिन सुख्खा पहिरो ठुलो स्केलमा झर्न थालेपछि गाउँमा जोखिम बढेको छ,’ उनले भनिन्।

पहिरोका कारण करिब दुई दर्जन घर प्रत्यक्ष जोखिममा परेका उनले बताइन् । पहिरो दिनानुदिन बढिरहेको र झर्ने क्रम अहिले पनि जारी रहेकोले पहिरोको माथि रहेको भारिकाेट गाउँसम्म जमिन चिरा परेको उनले बताइन् ।

उनले थपिन् ,’ सरकारले भू-गर्भविद ल्याएर माटो परीक्षण गरेर कति सम्म जोखिम छ । कुन कारणले पहिरो निरन्तर जादैछ। कहाँ सम्म जाने सम्भावना छ । अब रोकिन्छ कि रोकिँदैन । रोकिन्छ भने रोकथाम गरिदिनु पर्‍यो । नभए जोखिममा रहेका घरधुरीलाई बसाइसराइ गरी व्यवस्थापन गरिदिनु पर्‍यो भन्ने हामी सबैको माग छ ।’

दिनदिनै पहिरो बढिरहेका कारण आफूहरू घरबाट विस्थापित भएर छिमेकीको घरमा बस्नुपर्ने अवस्था आएको स्थानीय गंगा भुलले बताए । ‘हेर्दाहेर्दै पहिरो घरसम्म आइपुग्न लाग्यो । हामी त घर छोडेर बस्नुपर्ने भयो । यत्रो खेतबारी र घर सबै पहिरोले लैजाने भयो,’ उनले दुःखेसो गर्दै भने ।

Krishi

दुई वर्ष अगाडी वर्षाका कारण भत्किएको घर रिन कर्ज गरेर बनाएको थियौ । फेरि पहिरो आएर बस्न नपाउने भयौँ ।

पहिरोको जोखिम दिनानुदिन बढिरहेकाले स्थानीयलाई सचेत रहन अनुरोध गरिएको आदर्श गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले बताए । बुधबार पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी तुल्छी बहादुर श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा स्थलगत अनुगमन गरिएको उनले बताए ।


सम्भावित क्षति रोक्न आवश्यक सतर्कता अपनाउने, जोखिममा रहेका बासिन्दाको सुरक्षामा ध्यान दिने तथा आपत्कालीन अवस्था आए तत्काल उद्धारका लागि तयारी अवस्थामा रहने विषयमा छलफल भएको उनले शिला खबरलाई जानकारी दिए।

पहिरो प्रभावित जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन लगायत विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक सहयोग एवं समन्वयको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयसँग आवश्यक समन्वय भइरहेको अध्यक्ष खड्काले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले समेत केही दिनअघि प्रभावित क्षेत्रको स्थलगत अनुगमन थिए । अनुगमनका क्रममा मन्त्री मल्लले पहिरोबाट उत्पन्न जोखिम, प्रभावित क्षेत्रको अवस्था तथा बस्तीमाथि पर्न सक्ने सम्भावित जोखिमबारे जानकारी लिएका थिए।

पहिरोले थप ठुलो रूप लिन सक्ने सम्भावना रहेकाले जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण तथा बस्ती संरक्षणका लागि प्रदेश सरकारबाट सक्दो पहल गर्ने बताएका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.