बैतडी –खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मङ्गलवार राति ११ बजे र्दुघटनामा परेको हो ।
दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।
जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । चालक सम्पर्क विहीन रहेका छन् ।
मृत्यु भएकाहरूको शव निकाल्ने कार्य अहिले बिहान सुरु हुने प्रहरी निरीक्षक खत्रीले बताए । भारतबाट रोजगारी गरेर बिसु मनाउनका लागि घर फर्केकाहरू दुर्घटनामा परेका हुन् । -सगुन खबर