“डोटीको माया छ र ?”
डिल बहादुर महरा
गौँडा पश्चिमको सुदूरभरिको,श्री शान्त डोटी थियो ।
देख्दै छौँ अलपत्र दृश्य अहिले,च्यातिन्छ साह्रै हियो ।।
रित्ता छन् दरबारझैँ घरहरू,ताल्चा छ ढोका भरी ।
भन्छन् शून्य भयो अझै सिलगढी,बेकार नाना थरी ।।
।१।
देख्छौँ स्याल र बाघ भालु घरमा,आई सुतेका बरु ।
गल्ली छन् सुनसान रात दिउँसै,छैनन् परेवाहरू ।।
आफैँ प्राकृत रौम्य शैल टकिलो,यो नागबेली स्थल ।
जाली बुद्धि-विवेकका भर परी,हामी भयौँ दुर्बल ।।
।२।
माटोको ममता भुली दिनदिनै,भागे कमाई गरी ।
जन्मस्थान र बन्धु-बान्धवसँगै,छोडेर शैलेश्वरी ।।
नासो – पैतृक भन्दछन् घरधनी,पाइन्न बेच्नेहरू ।
किन्नेले पनि किन्न पाउँछ कहाँ,भत्केर जान्छन् बरु ।।
।३।
डोटी अन्तर शक्ति शान पदका,मान्छे अनेकौँ थरी ।
दोहोरो छ चरित्र भन्न नहुने,छन् मग्न लुट्ने भरी ।।
बेला अन्तर आउँछन् नरगमा,छोडेर जाने जन ।
भन्छन् आज उनै लुटे पर लगे,त्यो राजधानी किन ?
।४।
प्यारो आँगन जन्मिएर यसमै,हामी बढ्यौँ हुर्कियौँ ।
बिर्स्यौँ आज अन्यत्र दाम्भिक हुँदै,उल्लासमा फुर्कियौँ ।।
डोटी नाम लिई परत्र बलले,हुर्केर के हुन्छ र ?
हौ डोट्याल भने छिटो र छरितो,फर्केर आऊ घर ।।
।५।