

पुस २९ गते डोटी : डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलमा यहीँ फागुन १ गतेदेखि सञ्चालन हुने डोटी महोत्सव २०८२ को अवसरमा पहिलोपटक ‘डोटी आइडल’ आयोजना हुने भएको छ।
स्वरका धनी भएर पनि हालसम्म गीत रेकर्ड गर्ने अवसर नपाएका जिल्लामा लुकेर बसेर गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले डोटी आइडल सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा १२ देखि ४० वर्ष उमेर समूहका नव–प्रतिभाशाली गायक–गायिकाहरूले सहभागिता जनाउन सक्ने अध्यक्ष बिक्रम साउँदले बताए ।
प्रतियोगिताको अडिसनको पहिलो चरणबाट जिल्लाका प्रत्येक पालिकाबाट ३/३ जना प्रतियोगी छनोट गरिने उनले बताए । प्रारम्भिक चरण पार गरेका प्रतियोगीहरूलाई महोत्सव स्थल दिपायलमा आयोजना हुने फाइनल चरणमा प्रवेश गराइने छ । नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकर्मीहरू सम्मिलित निर्णायक मण्डलले मूल्यांकन गर्ने व्यवस्था गरिएको जनाएको छ।
डोटी आइडलको टप थ्रीमा पर्न सफल गायक–गायिकाहरूलाई गीत रेकर्ड गर्ने अवसर, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
इच्छुक प्रतियोगीहरूले २०८२ साल माघ १५ गतेभित्र डोटी उद्योग वाणिज्य संघको सचिवालयमा नाम दर्ता गराउनुपर्नेछ। नाम दर्ता भएका प्रतियोगीहरूले दुईवटा फरक–फरक विधाका गीत भिडियो सहित अडियो रेकर्ड गरेर पठाउनुपर्ने व्यवस्था रहेको छ।
डोटी उद्योग वाणिज्य संघका साउँदका अनुसार ‘डोटी आइडल’ कार्यक्रमले जिल्लाका मौलिक तथा नयाँ गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास लिइएको छ।
नाम दर्ता तथा अडियो पठाउने सम्बन्धी थप जानकारीका लागि
सम्पर्क व्यक्ति:
मोहन शाही – फोन: ९८४८६२८६५५
विक्रम साउँद – फोन: ९८४८४३१२४६

