

एकेन्द्र चन्द, बैशाख २३ गते,डोटी:सुदूरपश्चिम प्रदेश मात्र नभई नेपालकै एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित बडीकेदार अर्थात् ठुला केदार धाम अझै पनि पर्यटकको पर्खाइमा रहेको छ। धार्मिक आस्थाको धरोहर मानिने यो पवित्र स्थलमा नेपालका विभिन्न जिल्लाका साथै भारतका केही स्थानबाट भक्तजन आउने गरेका छन्। तर, मेलाको समयबाहेक अन्य समयमा भने यहाँ पर्यटकको उपस्थिति न्यून देखिन्छ।
समुद्री सतहबाट करिब २,८०० मिटरको उचाइमा अवस्थित ठुला केदार धाम धार्मिक आस्था, पौराणिक इतिहास र प्राकृतिक सौन्दर्यको अद्भुत संगम हो। यहाँबाट देखिने अपि र सैपाल हिमालका सेता चुचुराहरू, हरियालीले भरिएका जङ्गल र स्वच्छ वातावरणले जो कोहीलाई पनि आकर्षित गर्छ।
पौराणिक मान्यताअनुसार ठुला केदारलाई भगवान शिवको साक्षात् वासस्थान मानिन्छ। यहाँ परापूर्वकालदेखि नै शिवलिङ्गको पूजा हुँदै आएको छ, जसले यस क्षेत्रलाई धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण बनाएको छ।

यति धेरै सम्भावना हुँदाहुँदै पनि उचित प्रचारप्रसार र पूर्वाधारको अभावका कारण यो क्षेत्र अझै ओझेलमा परेको छ। केही भौतिक संरचना निर्माण भए पनि विद्युत, खानेपानी, नेपाल टेलिकमको फोरजी नेटवर्क लगायत आधारभूत सेवाहरूको अभाव रहेको स्थानीयवासी बताउँछन्।
स्थानीय युवा अकेन्द्र बोहराका अनुसार,“यदि यी समस्याहरू समाधान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकियो भने बडीकेदारमा उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिन्छ।”
त्यस्तै, स्थानीय रामबहादुर बोहराले ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि पूर्वाधार विकासमा पर्याप्त ध्यान नपुगेको गुनासो गरे। उनका अनुसार, आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेमा स्थानीय व्यापार व्यवसाय र आयआर्जनमा समेत टेवा पुग्नेछ।
बडीकेदारधाम अन्तर्गत रहेका मठ–मन्दिर, गुफा र झरनाहरूको उचित विकास र प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र सम्भावनायुक्त हुँदाहुँदै पनि पछि परेको बडीकेदार गाउँपालिका–४ का रामबहादुर धामीले बताए।
बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार, “यो धाम धार्मिक, सांस्कृतिक तथा पर्यटन दृष्टिले अत्यन्त महत्वपूर्ण छ। तर सडक, पैदलमार्ग, खानेपानी, शौचालय, धर्मशाला र सूचना केन्द्र जस्ता आधारभूत पूर्वाधार अझै पर्याप्त रूपमा विकास हुन सकेका छैनन्।”
उनले संघीय, प्रदेश र स्थानीय सरकार मिलेर सडक तथा सुरक्षित पैदलमार्ग निर्माण, धर्मशाला तथा विश्रामस्थल विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र वातावरणीय संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

समितिका कार्यकारी अधिकृत गणेशराज जोशीका अनुसार, “ठुला केदारको विकास र प्रचारप्रसारसँगै यहाँका नागरिकको आयआर्जन र रोजगारीका अवसरमा उल्लेख्य वृद्धि हुन सक्छ।”
बडीकेदार गाउँपालिकाले पनि यस धामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई उजागर गर्न पर्यटन बोर्डसँग सहकार्य गर्दै काम गरिरहेको जनाएको छ।

