Sujang

विराटनगर महानगरपालिकामा ‘सफा नेपाल’ एप सञ्चालन

Ban

बैशाख १६ गते : कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणलाई प्रभावकारी बनाउन ‘सफा नेपाल’ एप सञ्चालनमा ल्याइएको छ।
यही बैशाख १५ गते मंगलबारदेखि सुरु गरिएको उक्त एप १७ चैत्र २०८३ सम्म कार्यान्वयन हुने जनाइएको छ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा “Building a Circular and Resilient Vulnerable Community through Waste Innovation” परियोजनाअन्तर्गत स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले एप सञ्चालनमा ल्याएको हो।

Krishi

यस एपमार्फत महानगरभित्र फोहरमैला व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै नागरिकलाई सरसफाइप्रति जिम्मेवार बनाउने र महानगरको प्राविधिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
महानगरकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकमा स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले एपका विशेषता, सञ्चालन प्रणाली तथा फोहरमैला सम्बन्धी गुनासो दर्ता र सम्बोधनमा यसको भूमिकाबारे प्रस्तुति दिएका थिए।

फोहर व्यवस्थापन शाखा प्रमुख पुनम कुमार दाहालले एप सञ्चालनपछि देखिन सक्ने अवसर र चुनौतीबारे चर्चा गर्दै महानगरको भूमिकाबारे जिज्ञासा राखेका थिए। कार्यवाहक प्रमुख कार्कीले एपको प्रभावकारी प्रयोगका लागि समुदायमा जनचेतना र शिक्षा आवश्यक रहेकोमा जोड दिइन्।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले फोहर व्यवस्थापन शाखालाई एपसम्बन्धी प्राविधिक ज्ञान हासिल गर्न आग्रह गर्दै आगलागी वा फोहर जलाउने जस्ता घटनामा एपमार्फत आउने सूचनालाई प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिएका थिए।

१८ जना शाखा तथा महाशाखा प्रमुख र प्रतिनिधिहरूको सहभागितामा सम्पन्न परिचयात्मक बैठक तथा सम्झौता हस्ताक्षर कार्यक्रममा स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछाने र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालबीच एप सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर आदान–प्रदान गरिएको थियो। कार्यक्रमको समापनमा कार्यवाहक प्रमुख कार्कीले संस्थालाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.