

जेठ ३ गते डोटी : शिखरमा “दलित महिला संग उपमेयर” अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा शिखर नगरपालिकाको सहयोगमा “दलित महिला संग उपमेयर” कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम शनिबार नगरपालिकाको वडा नं. ४ धुर्कोटमा तथा आइतबार वडा नं. १० बानेडुङ्ग्रिसैनमा दलित महिलाहरूको सहभागितामा सञ्चालन गरिएको प्रकाश बमले जानकारी दिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिर्घ बहादुर बलयारले दलित महिलाका हक–अधिकार सुनिश्चित गर्न शिखर नगरपालिका प्रतिबद्ध रहेको बताउँदै दलित महिला दिदीबहिनीहरू आफैं आफ्नो अधिकारका लागि अगाडि आउनुपर्नेमा जोड दिए।
त्यसैगरी नगर उपप्रमुख सुनिता रावल जोराले दलित महिला तथा अन्य सिमान्तकृत वर्गको मानव अधिकार, सामाजिक न्याय र सशक्तीकरणका विषयमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनले दलित महिलाहरू आफ्ना हक–अधिकारबारे जानकार भई नेतृत्वदायी भूमिकामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।
उक्त कार्यक्रममा बोल्दै शिखर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वुढाले सिकेको कुरा ब्यवहारमा उर्तान जोड दिए ।
कार्यक्रममा सहभागी मिना भुलले यस्ता कार्यक्रमले दलित महिलालाई आफ्नो अधिकार खोज्न, समुदायमा नेतृत्व विकास गर्न तथा आत्मविश्वास बढाउन सहयोग पुगेको बताइन्। आगामी दिनमा नगरपालिकाले दलित महिलालाई आयआर्जनसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउन थप सहयोग गर्ने विश्वास समेत उनले व्यक्त गरिन्।
उक्त कार्यक्रमका सहजकर्ता शंकर विक तथा बन्दना बम रहेका थिए।

