

गणेश गाङखेती
भदौ १० गते ,डोटी :राणाकालीन समयमा नेपालका धेरै कम सहरमध्ये डोटी पनि थियो । बाइसेचौबीसे रजौटाका पालामा त झन् डोटी बलियो राज्यका रूपमा चिनिएको थियो । अहिले डोटीको सभ्यता र संस्कृति जति गौरवपूर्ण छ वर्तमान अवस्था भने उति नै दयनीय देखिन्छ । डोटीले प्राचीन समयमा समग्र पश्चिमको प्रतिनिधित्व गर्थ्यो । पछि विभिन्न जिल्लामा विभक्त भए पनि भाषा र संस्कृतिको कोणबाट डोटी पश्चिम क्षेत्रमा महत्त्वपूर्ण रहेको छ ।
राणाकालमा डोटी जिल्लाको सदरमुकाम सिलगढी व्यापारलगायत अन्य धार्मिक, सांस्कृतिक एवं पर्यटकीय केन्द्र थियो । सिलगढी बजारमा राणाकालदेखि नै नेवार समुदाय व्यापारमा जमेका रहेका थिए । पत्र्चायत कालमा ७५ जिल्लामध्येको एउटा भए पनि सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम डोटीकै दिपायल तोकिएपछि प्रशासनिक दृष्टिबाट बलियो भए पनि विकासको गति भने अत्यन्त मन्द थियो । यद्यपि, दिपायलमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मुकाम स्थापना भएपछि सरकारी तथा गैरसरकारी कार्यालयहरूको बाक्लो उपस्थितिले यहाँको सामाजिक तथा आर्थिक जीवन चलायमान भएको थियो ।
शिक्षा क्षेत्रमा अब्बल थियो डोटी
विसं २००४ सालमा डोटी जिल्लाको सदरमुकाम सिलगढीमा पद्म पब्लिक विद्यालयको स्थापना भएपछि औपचारिक शिक्षा आर्जन गर्न सुदूरपश्चिमका विद्यार्थीहरु सिलगढी आउन थाले । यसैगरी २०१७ सालमा डोटी क्याम्पसको स्थापना भएदेखि त उच्च शिक्षाका लागि पनि सहज भएको थियो । डोटी क्पाम्पसमा अध्ययन गर्न आसपासका जिल्लाबाट हुने आवतजावतले सिलगढीको रौनक नै बेग्लै थियो । प्रजातन्त्रको पुनर्बहालीपछि समेत सुदूरपश्चिमका सबै पहाडी जिल्लाका विद्यार्थी अध्ययनका लागि यतै आउँथे । राणाकाल पञ्चायत र २०४७ पछि समेत यहाँको शिक्षाको स्तर राम्रो मानिएको थियो । तर २०६० को दशकपछि यहाँको भने शैक्षिकस्तर ओरालो लागेको देखिन्छ ।
देउवाको प्रारम्भिक अध्ययनस्थल
पाँच पटक प्रधानमन्त्री बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको सीताराम मावि उच्चाकोटमा अध्ययन गरेका थिए । देउवालगायत सुदूरपश्चिमका धेरै राजनीतिक नेताहरूको अध्ययन उच्चाकोटमा भएको देखिन्छ । त्यतिबेला सुदूरपश्चिममा शिक्षाको केन्द्र नै डोटी थियो ।
डा. केआई सिंहको गृह जिल्ला
विसं २०१४ सालमा नेपालका प्रधानमन्त्री बनेका डा. केआई सिंहको जन्म डोटी जिल्लाको केआईसिंह गाउँपालिका (१ (साबिक तिखात्तर गस डुम्रमा १९६३ बैशाखमा भएको थियो । सिंह २००७ सालको क्रान्तिमा भैरहवा क्षेत्रका कमान्डर थिए तर २००७ को दिल्ली सम्झौताप्रति असन्तुष्टि जनाएर विद्रोह गरे । भारतीय र नेपाली सेनाको संयुक्त गस्तीबाट उनलाई गिरफ्तार गरिएको थियो । बन्दी अवस्थामै जेल फुटाएर चीनमा पुगेका सिंह विस २०१२ सालमा माफी पाएपछि नेपाल फर्के । विक्रम सम्वत २०१४ मा उनलाई प्रधानमन्त्री वनाइएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा केआई सिहको पालामा शिक्षा मन्त्री वनेका थिए ।

यसै गरी २००७ सालको क्रान्तिमा सुदुरपश्चिमको नेतृत्व गर्ने शिवराज पन्त तथा एसियामै पहिलो महिला मन्त्री बनेकी द्वारिका देवी ठकुरानीको जन्म घर पनि डोटी नै थियो । शिवराज पन्त २०१५ सालको आम निर्वाचनपछिको सरकारमा वनमन्त्री बनेका थिए । उनको कार्यकालमा सदरमुकाम सिलगढीको खानेपानी योजना सुरु भएको मानिन्छ ।
पूर्वमन्त्री नारायण दत्त भट्ट पत्र्चायतकालका शक्तिशाली मन्त्री थिए। भट्ट मन्त्री हुँदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मुकाम दिपायल तोकिएको थियो । सुदूरपश्चिमको केन्द्र तोक्ने समयमा लोकेन्द्रबहादुर चन्द र भट्टको बीचमा तानातान भएको थियो । चन्दले वैतडीको पाटन क्षेत्रलाई सुदूरपश्चिमको सदरमुकाम बनाउन चाहेको चर्चा अहिले पनि सुनिन्छ । पछि दिपायल तोकिएको थियो । उसो त, भौगोलिक बनोटका आधारमा पनि डोटी सुदूरपश्चिमको बीचमा पर्छ ।
विसं २०४६ सालपछिका सरकारमा डोटीको उपस्थिति कमजोर भएको देखिन्छ । त्यसपछिका सरकारहरूमा नेपाली कांग्रेसका सिद्धराज ओझा, भक्तबहादुर बलायार र वीरबहादुर बलायार छन् भने नेकपाका प्रेमबहादुर आले पनि संघीय मन्त्री बनिसकेका छन् । सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा (माओवादी केन्द्र)का तर्फबाट डोटी जिल्लाबाटै निर्वाचित भएका हुन् ।
संघीयतापछि झन् टाक्सिएको डोटी
विसं २०७२ सालको संविधान जारी भएपछि नेपाल संघीय प्रणालीमा गएको हो । संघीयताअन्तर्गत पुरानो प्रासनिक संरचना हटाएर नयाँ प्रादेशिक संरचना तयार भए । तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम दिपायल भएको र भौतिक पूर्वाधारका आधारमा पनि दिपायल नै राजधानी तोकिनेमा डोटेलीहरू ढुक्क देखिन्थे । तत्कालीन सरकारले अस्थायी मुकाम धनगढीलाई तोकेपछि डोटीमा निकै लामो समय आन्दोलन चर्किएको थियो । तर,केन्द्रको राजनीतिमा सशक्त प्रतिरोध गर्न सक्ने नेतृत्वको अभावमा आन्दोलनले सार्थकता पाएन ।
यसपछिको डोटी सुनसान छ । सदरमुकाम गुमेपछि यहाँको बसाइँसराइ पनि तीव्र रूपमा बढिरहेको छ । बसाइँसराइ र व्यापार व्यवसायमा आएको मन्दीका कारण सिलगढी उजाड सहरमा परिणत हुँदैछ । सिलगढीको व्यापार चौपट छ भने भौतिक विकास अत्यन्त मन्द छ । संघ र प्रदेश सरकारको उपेक्षामा परेको तीतो अनुभुति यहाँका बासिन्दाले गरेका छन् । इतिहासको गौरवमय बिरासत बोकेको यस क्षेत्रलाई पर्यटन, संस्कृति र शिक्षा क्षेत्रको केन्द्र कनाउन सके यस जिल्लाको सम्भावनालाई सुनिश्चित गर्न सकिनेछ ।
रित्तिँदै छन् बस्तीहरू
डोटी जिल्लाको जनसंख्या घट्दै गएको छ । सबैजसो स्थानीय तहबाट धनगढीलगायत तराईका अन्य स्थानमा बसाइँ सर्नेहरू बढिरहेका छन् । डोटीका स्थानीय तहको प्राथमिकता बसाइँसराइ व्यवस्थित गर्ने र रोजगारी एवं आर्थिक पूर्वाधारका गतिविधि सञ्चालन गर्ने हुनुपर्छ । गाँउमा रोजगारी पाएकामात्र भेटिन्छन् । गाँउको चहल पहल शून्य प्रायः छ । ऐतिहासिक सिलगढी बजारसमेत रित्तिँदै गएको छ । पुराना प्रशासनिक अड्डा स्थानान्तर भइसकेपछि दिपायलको चहलपहल पनि सुस्त हुँदैगएको छ । केही प्रादेशिक निर्देशनालय दिपायलमा भए पनि कर्मचारी कमै उपस्थित हुन्छन् । प्रदेश मुकाम तराई तोकिएपछि बासिन्दाहरू उतै सर्न थालेपछि डोटीका ग्रामीण बस्तीसमेत रित्तिँदै गएका छन् ।
डोटीको विकासका सम्भावना
आलुको पकेट क्षेत्रको रूपमा डोटी जिल्लाको उत्तरी भूभाग उर्वर मानिन्छ । सायल गाँउपालिकाको अधिकांश स्थानमा आलु खेतीको प्रचुर सम्भावना छ । आलु खेतीलाई व्यवसायीकरण गर्न सके सायल गाँउपालिकाका लागि प्रमुख उपलब्धि हुनेछ । सायलीगाडको माछा र यस क्षेत्रको अल्लो प्रशोधन आय आर्जनका लागि अर्को उद्यम बन्न सक्छ । दिपायल मौवा मेल्लेख हुँदै सायल गाँउपालिका छुने सडक बझाङ्गसम्म जोडिइसकेको छ भने यसै बाटोमा सिलगढी झिग्राना हुँदै डौडसम्म अर्को बाटो बनेको छ । यसैगरी सिलगढी हुँदै कलेना मेल्लेखसम्म पनि बाटो पुगेको छ । बाटो कालोपत्रे भइरहेको छ । ढुवानी, आवातजावत सजिलो भएपछि सायलको उत्पादन केही घन्टामै दिपायल र सिलगढी पुग्नेछ ।
डोटीको अर्को विकासको सम्भावना दक्षिणी क्षेत्र बोगटानलाई मानिन्छ । बोगटान फुडसिल गाँउपालिका र बडीकेदार गाँउपालिकाका विभिन्न स्थान मह, अदुवा, बेसार, केरा, सुन्तलाको पकेट मानिन्छन् । दिपायलदेखि चवराचौतारा हुँदै धनगढीसम्मको बाटो लगभग चालु अवस्थामा भए पनि स्तरोन्नतिको गति निकै मन्द छ । धनगढी-डोटी द्रूतमार्ग सम्पन्न भयो भने धनगढी सम्मको यात्रा २/३ घन्टामै तय हुनेछ । जिल्ला सदरमुकाम सिलगढी हुँदै झिग्रानासम्मको बाटो कालोपत्रे भइसकेपछि खप्तड घुम्न आउने पर्यटकलाई धेरै सजिलो भएको छ । सिलगढी बजारलाई सांस्कृतिक सहर एवं शैक्षिक केन्द्रका रूपमा विकास गर्न सके डोटी पुनर्निर्माणको ढोका खुल्नेछ ।