Sujang

सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित

कैलाली :सुदूरपश्चिम प्रदेशसभाको आजको लागि आह्वान गरिएको बैठक स्थगित भएको छ। सोमबार बिहान ९ बजेको लागि बोलाइएको बैठक राष्ट्रिय शोकको कारण स्थगित भएको हो। सभामुख चयनका लागि बैठक आह्वान गरिएको थियो। पोखरामा आइतबार भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।

मंगलबार बिहान १० बजे बैठक बोलाउने सहमति गरेर आजको बैठक स्थगित गरिएको हो। बिहान बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बैठक स्थगित गरेको हो । भोलीको बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

उक्त व्यवस्थाअनुसार सुदूरपश्चिममा सोमबार राति १२ बजेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने थियो तर राष्ट्रिय शोकका कारण आजको दिनलाई गणना नगर्ने सहमति दलहरुबीच भएको छ। सभामुख चयनका लागि यसअघि २८ र ३० पुसमा मतदान भएको थियो ।

तर एमाले नेतृत्वको गठबन्धनका उम्मेदवार भीम भण्डारी र कांग्रेस गठबन्धनका मानबहादुर रावलले बहुमतका लागि आवश्यक पर्ने २७ मत नल्याउदा पुनः मतदानमा गएको हो । ३० पुसमा भएको पुनः मतदानमा सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेशसभाले सभामुख नपाएको हो।

 

Salmuni
Leave A Reply

Your email address will not be published.