

असोज १३ गते ,डोटी :सुदूरपश्चिम सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई परिपत्र गर्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको ३०० मिटर वरिपरि अन्य निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङहोम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ ।

मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनका लागि यसअघि नै विसं २०७९ माघ २९ को पत्रमार्फत ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ सहित स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको स्मरण गराएको छ ।
मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले उक्त पत्र र संलग्न मापदण्डबमोजिम ऐनको दफा २७ हालसम्म कार्यान्वयन नगरेको जनाउँदै पुनः सख्त ताकेता गरेको बताए । मंगलबार मन्त्रीस्तरीय निर्णयअनुसार ऐन तथा मापदण्ड कार्यान्वयनमा कडाइ गर्न स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरिएको कानुन अधिकृत सुनारले जानकारी दिए ।

