प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती परियोजना संचालनमा ल्याउने बताएका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको गन्यापधुरामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई आर्थिकरूपमा समुन्नत बनाउन पश्चिम सेती आयोजना सुचारु हुने बताएका हुन् ।
उहाँले भन्नुभयो, “पश्चिम सेती सुदूरपश्चिमको मात्रै होइन, देशकै अर्थतन्त्र उकास्ने महत्वपूर्ण आयोजना हो । यसको निर्माण सम्पन्न गरेपश्चात हामीले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छौँ । पश्चिम सेती निर्माणका लागि सम्झौता भइसकेको छ प्रधानमन्त्री देउवाले बताए । उहाँले सेती र महाकाली क्षेत्रका नागरिकलाई आर्थिकरूपमा सबल बनाउनका लागि पनि योजना बनाउने बताए ।
उहाँले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गरे । प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्नका लागि कूटनीतिक पहल समेत भईरहेको बताए । उहाँले भारत र चीनसँग सीमा विवादका सन्दर्भमा सरकारले कूटनीतिक पहल गर्ने र वार्ताबाटै समस्याको समाधान खोज्ने समेत उहाँको भनाई थियो । उहाँले दुई पटक संसद् भङ्ग गर्ने अघिल्लो सरकारको कदमको आलोचना गर्दै अब संसद र सरकारको स्थायित्वकै लागि गठबन्धन गरिएको बताए ।
कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार खगराज भटट र प्रदेश सभा ख का उम्मेदवार गोबिन्द बोहराले बोल्नु भएको थियो । प्रधानमन्त्री देउवा भोली अजयमेरु गाँउपालिका र भागेश्वर गाँउपालिकाको रुपालमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेस डडेल्धुरा सभापती भीमबहादुर साँउदले जानकारी दिए ।