

रश्मि कुँवर,फागुन १६ गते, डोटी : डोटीको सिलगढीस्थित भागरती एकेडेमी विद्यालयमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। शनिबार शिक्षा विकास तथा समन्वय इकाइ डोटीका इकाइ प्रमुख भिम पनेरुको प्रमुख आतिथ्यमा शिक्षक तथा विद्यार्थीबीच उक्त कार्यक्रम आयोजना गरिएको हो।

नजिकिँदै गरेको माध्यमिक शिक्षा परीक्षा तथा नगरस्तरीय वार्षिक परीक्षा २०८२ लाई लक्षित गर्दै कक्षा ८ र कक्षा १० का विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा परीक्षामा प्रभावकारी लेखन शैली, अध्ययन गर्ने सही तरिका, उत्कृष्ट अंक प्राप्त गर्ने उपायलगायतका विषयमा सहजीकरण गरिएको थियो।
त्यसैगरी विद्यार्थीको अनुशासन, मर्यादा, लगनशीलता, मेहनत र लगाव अभिवृद्धि गर्ने उपायहरू, शिक्षक र अभिभावकप्रतिको दायित्व, स्वस्थ खानपानका तरिका तथा सर्वाङ्गीण विकासका विविध पक्षहरूलाई रचनात्मक र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको थियो।
कार्यक्रम अन्तर्गत विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई बालमैत्री शिक्षा,विद्यार्थीहरूको मनोविज्ञान बुझ्ने कला, प्रभावकारी अध्यापन शैली, सरकारी शिक्षा मापदण्ड तथा त्यसका आधारहरूबारे जानकारी दिइएको थियो। साथै कक्षाकोठामा तनाव व्यवस्थापन, उत्कृष्ट अध्यापन अभ्यास, शिक्षक–विद्यार्थीबीच रचनात्मक सिकाइ र मैत्री सम्बन्ध विकासका विषयमा पनि छलफल गरिएको थियो। पाठ्यक्रमको प्रभावकारी प्रयोग विधि र विद्यार्थीप्रतिको कर्तव्यबारे विशेष व्याख्या गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रिन्सिपल हेमराज मलासीका अनुसार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म चार सत्रमा सञ्चालन गरिएको कार्यक्रममा दुई घण्टा विद्यार्थी र बाँकी दुई सत्र शिक्षकबीच अन्तरक्रिया सम्पन्न भएको थियो।

