Sujang

वायु प्रदूषण न्यूनीकरणसम्बन्धी राष्ट्रिय संवाद सम्पन्न

Ban

पुस १६ गते ,काठमाडौँ : वायु प्रदूषणको सवाल, वर्तमान अवस्था र नीतिगत पहलहरूबारे सरोकारवालासँग गरिएको राष्ट्रिय संवाद कार्यक्रम काठमाडौँको नयाँ बानेश्वरमा सम्पन्न भएको छ।

क्लिन अप नेपाल र जिडी ल्याब एण्ड रिसर्चको संयुक्त आयोजनामा तथा EPIC Air Quality Fund को सहयोगमा सम्पन्न कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी वातावरण निरीक्षक रीना चौधरीले वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने दीर्घकालीन तथा गम्भीर असरबारे प्रकाश पारिन्।

साथै उनले नेपाल सरकारले वायु प्रदूषणलाई विपद् संकटको सूचीमा समावेश गर्ने उद्देश्यसहित गरिरहेका प्रयासहरू तथा विभिन्न सरोकारवाला निकायहरूसँगको सहकार्यबारे जानकारी दिइन्।

Krishi

कार्यक्रममा काठमाडौँ र ललितपुर महानगरपालिका तथा काठमाडौँ उपत्यकाभित्रका अन्य नगरपालिकाका प्रतिनिधिहरूले वायु प्रदूषण न्यूनीकरणका लागि स्थानीय सरकारले गरेका अभ्यासहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले प्रदूषण नियन्त्रणका लागि एकीकृत पहल आवश्यक रहेको, स्थानीय सरकारको स्रोत तथा क्षमता विकासमा जोड दिनुपर्ने र सामाजिक संस्थाहरूले समुदायस्तरमा सचेतना तथा क्षमता अभिवृद्धिमा भूमिका खेल्नुपर्नेमा जोड दिए।

क्लिन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वायु प्रदूषणका प्रमुख कारण र यसले जनस्वास्थ्यमा पार्ने प्रभावबारे प्रस्तुति दिएका थिए। उनले संस्थाले काठमाडौँ उपत्यकाका ३९ वटा विद्यालय र एक समुदायमा वायु गुणस्तर मापन यन्त्र जडान गर्नुका साथै विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन र तथ्यमा आधारित नीतिगत वकालत गरिरहेको जानकारी दिए। आगामी दिनमा प्रभावकारी नीति निर्माण, सरोकारवालाको सहभागिता सुनिश्चितता र प्रदूषण न्यूनीकरणका लागि सहकार्य विस्तार गरिने उनले बताए।

जिडी ल्याब एण्ड रिसर्चका प्रमुख प्राविधिक अधिकृत समिप सिग्देलले ‘सहजरूपले सास लिउँ, बालबालिकालाई प्रदूषणबाट जोगाऔँ’ कार्यक्रमअन्तर्गत उपत्यकाका ३९ विद्यालय र एक समुदायमा जडान गरिएका वायु गुणस्तर मापन यन्त्रबाट प्राप्त नतिजाले समुदाय, विद्यालय तथा स्थानीय सरकारलाई प्रदूषण न्यूनीकरणतर्फ उत्प्रेरित गरेको बताए।

कार्यक्रमका सहभागीहरूले वायु प्रदूषणको जोखिम कम गर्न नीतिगत स्पष्टताका लागि थप वकालत आवश्यक रहेको, सबै तहका सरकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।
१४ महिला सहित ४७ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण वकालत तथा अभियान सल्लाहकार प्रेम प्रकाश नेपालीले गरेका थिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.