

भाद्र १९ गते ,काठमाडौं :वातावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा सक्रिय संस्था स्वच्छ सफा नेपाल (Clean Up Nepal) ले आफ्नो १२औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा जोखा कार्यक्रम आज काठमाडौंमा सम्पन्न गरेको छ।
२०७१ सालमा स्थापना भएको संस्थाले “स्वच्छ र स्वस्थ नेपाल” को लक्ष्यसहित फोहर व्यवस्थापन, जलवायु न्याय, चक्रीय अर्थतन्त्र, सरसफाइ शिक्षा, तथा स्वच्छ पानी र सरसफाइमा कार्य गर्दै आएको छ। यस वर्ष पनि संस्था पाँच प्रमुख रणनीतिक क्षेत्रहरूमा क्रियाशील रहँदै सामाजिक समावेशीकरण, लैङ्गिक समानता, विपद् न्यूनीकरण लगायतका विषयलाई पनि जोड दिइएको जानकारी गराएको छ।
सभामा अध्यक्ष आमोद कर्माचार्यले वर्षभरिका गतिविधिहरूको भिडियो सार्वजनिक गर्दै कार्यक्रम उद्घाटन गरेका थिए। कोषाध्यक्ष नवराज पौडेलले रु. ४ करोड ८० लाख आम्दानी र रु. ३ करोड ९६ लाख खर्च भएको आर्थिक विवरण प्रस्तुत गरे भने लेखा परीक्षक सुजन सुबेदीले संस्थाको लेखा प्रणाली पारदर्शी रहेको बताए।

कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नदी सरसफाइ, अनौपचारिक श्रमिकहरुको सुरक्षाका लागि तालिम, प्लास्टिक व्यवस्थापन, वृक्षरोपण, विद्यालय–शून्य फोहर कार्यक्रमजस्ता गतिविधिबाट हजारौं व्यक्तिलाई प्रत्यक्ष लाभ पुगेको बताए।
यस वर्ष १५० टन फोहर संकलन, ५०० जना अनौपचारिक श्रमिकलाई तालिम, २२०० वृक्षरोपण, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका तथ्याङ्क प्रस्तुत गरिएको थियो।
कार्यक्रममा ललितपुर र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरू, समाज कल्याण परिषदका सदस्यहरू, विभिन्न साझेदार संस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समाज कल्याण परिषदका नारायण गिरीले वर्तमान सन्दर्भमा गैरसरकारी संस्थामाथिको विश्वास बढाउने खालको काम गरेको भन्दै क्लिन अप नेपालको प्रशंसा गरे।
अन्त्यमा, साधारण सभाले आमोद कर्माचार्यको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै कार्यक्रम सम्पन्न गरेको हो।

