


एकेन्द्र चन्द,पुस १३ गते,डोटी: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पछिल्लो समय कतै चुनावी प्रतिस्पर्धा त कतै मरिहत्ते देखिने गरेको छ। तर डोटी जिल्लाको एउटा विद्यालयमा भने झण्डै तीन दशकसम्म एउटै व्यक्ति अध्यक्ष रहेर हालै बिदा भएका छन्।
डोटी जिल्लाको बडीकेदार गाउँपालिका–५ भवरामा रहेको केदारेश्वर आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा देवबहादुर घर्ती मगर ३० वर्षसम्म निरन्तर रहेर नेतृत्व सम्हालेपछि हालै जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो।
निवर्तमान अध्यक्ष घर्ती मगरका अनुसार आफू अध्यक्ष बन्दा विद्यालयमा आधारभूत संरचना समेत नहुँदा श्रमदानकै माध्यमबाट विद्यालय भवन निर्माणदेखि खेलमैदान निर्माणसम्मका काम सम्पन्न गरिएको थियो। “दरबन्दी प्राप्त गर्नेदेखि विद्यालयको स्वीकृति लिनेसम्मका काम हाम्रो कार्यकालमै भएका हुन्,” उहाँले भन्नुभयो।
गाउँ समाजको विश्वास र आफ्नाे इमानदारीकै कारण लामो समयसम्म सेवा गर्न पाएको उहाँको भनाइ छ। उमेरसँगै दौडधुप गर्न गाह्रो हुन थालेपछि नेतृत्व हस्तान्तरण गरेको घर्ती मगरले बताउनुभयो।
२०५२ सालमा स्थापना भएको उक्त विद्यालयमा उहाँको योगदान उल्लेखनीय रहेको विद्यालयका प्रधानाध्यापक नरेन्द्र बोहराले बताउनुभयो। विद्यालय स्थापनाका क्रममा स्वर्गीय भीमबहादुर थापाले जग्गा उपलब्ध गराउनुका साथै महत्त्वपूर्ण भूमिका खेलेको र उहाँहरूको योगदान विद्यालयले सधैँ स्मरण गर्ने प्रधानाध्यापक बोहराको भनाइ छ।
विद्यालयको निरन्तर विकास, शिक्षक–विद्यार्थीबीचको समन्वय तथा समुदायको विश्वास कायम राख्न व्यवस्थापन समितिको भूमिका प्रभावकारी रहँदै आएको स्थानीयको भनाइ छ। सीमित स्रोतसाधनका बाबजुद विद्यालयलाई अघि बढाउन सफल भएको उनीहरू बताउँछन्।
विद्यालय स्थापनाकालदेखि नै तत्कालीन समाजसेवी स्वर्गीय दिलबहादुर रोकामगर, टेकबहादुर थापामगरलगायत सम्पूर्ण अभिभावकहरूको नि:शुल्क श्रम, आर्थिक सहयोग र सामूहिक पहलबाट विद्यालय भवन तथा खेलमैदान निर्माण गरिएको थियो।
यद्यपि हाल पनि विद्यालयमा कम्तीमा एउटा थप भवन र विद्यालयसम्म पुग्ने सडक अत्यावश्यक रहेको शिक्षक–अभिभावक सङ्घका अध्यक्ष प्रकाश थापाले बताउनुभयो।

