

एकेन्द्र चन्द ,मंसिर २९ गते डोटी : चिसो मौसम बढे सँगै विद्यार्थीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खान पुगोस्, लाउन पुगोस् अभियान नेपालले डोटी जिल्लाका विभिन्न विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।

अभियानले बडीकेदार गाउँपालिका वडा नम्बर–५ अन्तर्गतका केदारेश्वर माध्यमिक विद्यालय रन्तोला, गौरीशंकर आधारभूत विद्यालय धमीगाउँ, बुढाकोट आधारभूत विद्यालय बुढाकोट तथा बयालगाउँ आधारभूत विद्यालय बयालगाउँमा अध्ययनरत १५० जना विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो।
सामाजिक सेवामा सक्रिय यो अभियानले हरेक वर्षजस्तै यस वर्ष पनि विपन्न तथा असहाय नागरिकलाई लक्षित गर्दै राहत वितरण सुरु गरेको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिए। आफ्नै गाउँ–ठाउँमा आएर सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।
यस वर्ष चिसो अझै बढ्ने अनुमानसँगै असहाय परिवारलाई राहत पुर्याउने उद्देश्यले वितरण कार्यक्रमलाई चरणबद्ध रूपमा अन्य स्थानीय तह तथा दुर्गम बस्तीमा विस्तार गर्ने तयारी गरिएको अभियानले जनाएको छ।

बुढाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर कठायतले न्यानो पोसाक र शैक्षिक सामग्रीले बालबालिकालाई ठुलो राहत पुगेको बताए। उहाँले खान पुगोस्, लाउन पुगोस् अभियान टिमलाई धन्यवाद दिँदै आगामी दिनमा पनि ग्रामीण भेगका विद्यालयहरूमा यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

