
डोटी बाल सुधार गृहबाट भागेका ३२ जना फर्किए,अझै २० जना फरार
फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन आह्वान

असोज १२ गते,डोटी : डोटीमा बाल सुधार गृहबाट भागेका ५२ जनामध्ये ३२ जना बालबिज्याइँकर्तालाई फर्काइएको छ ।
गत भदौ २४ गते रातको समयमा बाल सुधार गृहबाट भागेका ५२ जनामध्ये शनिबार सम्म ३२ जनालाई नियन्त्रणमा लिइएको बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।
उनका अनुसार भागेकामध्ये केही आफैँ,केहीलाई अभिभावकले बुझाएका हुन भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर बाल सुधार गृहको जिम्मा लगाएको थियो ।
विभिन्न मुद्दामा सुधार गृहमा रहेका २० जना अझै फरार रहेको लिम्बुले जानकारी दिइन् ।
केही अभिभावकहरूले आफ्ना बालकलाई आफैँ फर्काएर ल्याउने प्रतिबद्धता जनाएको प्रमुख लिम्बुले जानकारी दिइन् ।
गत भदौ २४ गते सुधार गृहमा ५३ जना बालबिज्याइँकर्ता बस्दै आएका थिए ।
अपराधमा संलग्न भएको आरोपमा कम उमेरका बालकहरूलाई सुधार गृहमा राखिने गरिएको छ । उक्त दिन १ जना भने सुधार गृहमै बसेका थिए ।
पछिल्लो समय एक जना बालबिज्याइँ थप भएको प्रमुख
प्रमुख लिम्बुले बताइन् ।

जेन-जी आन्दोलनका क्रममा देशभर कैदी बन्दी भागे सँगै बाल सुधार गृहबाट पनि भागेका थिए।
फरार रहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन आह्वान
गत भदौ २४ गते रातको समयमा वाल सुधार गृहबाट भागेका वालविज्याइँकर्तालाई यही असोज २० गतेभित्र सुधार गृहमा फर्कन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीले शनिवार भोज बहादुर ऐडिको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन २०८२ जारी गर्दै वाल सुधार गृहमा फर्कन आग्रह गरेको हो ।
तोकिएको समयभित्र नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारबाही हुने संयोजक प्रमुख ऐडिले जानकारी दिए।
फरार अवस्थामा रहेका वालविज्याइँकर्तालाई लुकाउने,छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही हुने भएकाले आवश्यक सहयोगका लागि प्रशासनले अनुरोध गरेको छ ।
ऐडिको संयोजकत्वमा गठन गरिएको कार्यदलमा सदस्य सचिवमा लाल बहादुर बोगटी, सदस्यमा सानुमाया लिम्बु, नवराज रावल रहेका छन् ।


