

असोज ४ गते,डोटी : डोटीमा संविधान दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
२०७२ साल असोज ३ नेपालको संविधान जारी भएको दिनलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरूको आयोजना गरी संविधान दिवस मनाइएको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिले जानकारी दिएको हो ।
शुक्रवार दिवसका अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको थियो । त्यस्तै साँझ शैलेश्वर मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको थियो ।
त्यस्तै शनिवार बिहान जिल्ला अस्पताल परिसरमा वृक्षा रोपण कार्यक्रम गरेर तीन दिने कार्यक्रम समापन गरिएको छ।

असोज २ गते शैलेश्वरी मन्दिर परिसरमा सरसफाइ गरिएको थियो ।
त्यस्तै स्थानीयतहहरु र जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूले आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्नु साथै दिवस अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएको जनाएको छ।
संविधान दिवसका अवसरमा आयोजना गरिएको तीन दिने कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण सिंहले धन्यवाद दिए।
नेपालको संविधान विश्वमै उत्कृष्ट रहेकोले प्रभावकारी रूपमा कार्यान्वयन हुनु पर्ने बताए।
।
‘संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्य व्यवस्था सञ्चालन गर्ने गर्दछ, ‘उनले भने ,‘संविधानमा लिपिबद्ध जनताका आधारभूत हक अधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्नेतर्फ सबैले जोड दिनु पर्दछ ।’
दिवसका अवसरमा गरिएकोमा कार्यक्रममा जनप्रतिनिधि ,सुरक्षा निकाय,जिल्ला स्थित सरकारी कार्यालय प्रमुख ,राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै असोज ३ गते उच्च अदालत वार एसोसिएसन दिपायल र जिल्ला अदालत वार एसोसिएसन डोटीको आयोजनामा संविधान कार्यान्वयनका १०वर्ष र वर्तमान परिवेशका विषयमा सिलगढीमा विचार गोष्ठी गरिएको थियो ।
त्यस्तै नेपाल विद्यार्थी संघ दिपायल सिलगढी नगरपालिकाको आयोजनामा संविधान दिवसका अवसरमा दिपायलको पिपल्लामा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो ।

