

भदौ १७ गते,डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
मङ्गलवार जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमका बिच सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक परीक्षणमा आर्थिक वर्ष ०८१/०८२ मा सम्पादित क्रियाकलाप एवम् उपलब्धिहरूको समीक्षा गरिएको थियो ।
सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले शिक्षा क्षेत्रमा संस्थाले राम्रो पहिचान स्थापित गर्न सफल भएको बताए ।
शिक्षा,आयआर्जन,स्थानीय पाठ्यक्रम निर्माण,बाल संरक्षणको क्षेत्रमा संस्थाले राम्रो कार्य गरेको बताउँदै जिल्लाका सबै वडामा संस्थाले आवश्यकता अनुसार कार्यक्रमलाई विस्तार गर्न सके राम्रो हुने बताए ।
संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हरिप्रसाद पन्तको स्मरण गर्दै उहाँले जुन उद्देश्यका साथ संस्था स्थापना गरेको उक्त कुरा बिर्सन नहुने उनले बताए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संस्थाले गरेका गतिविधि सकारात्मक रहेको बताउँदै परियोजना लागू भएको ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रम गर्दा अझै राम्रो हुने बताए ।
जिल्लाका नौ वटै स्थानीय तहमा जनताको आवश्यकता अनुसार कार्यक्रम विस्तार गर्न सके अझै प्रभावकारी हुने कुरामा जोड दिए । कार्यक्रममा उठेका जिज्ञासा, सुझावलाई मनन गरेर अगाडी बढ्न उनले सुझाव दिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए । संस्थाले सबै पालिका अन्तरगतका वडा वडामा आवश्यकता पहिचान गरेर कार्यक्रम विस्तार गर्न सके अझै राम्रो हुने सुझाव समेत दिएका थिए । पछिल्लो समय लागु औषध दुर्व्यसनी, बाल विवाह, छाउपडी प्रथा, मोबाइल फोनको दुरुपयोग जस्ता कुरा बढेका यस्ता कार्य रोक्न सचेतनाका कार्यक्रमलाई समेत अझै जोड दिनुपर्ने सहभागीहरूको भनाई रहेको थियो ।
संस्थालाई जनउत्तरदायी र जबाफदेही बनाउन वार्षिक रूपमा सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिएको संस्थाका कार्यकारी निर्देशक हेमराज जोशीले जानकारी दिए ।

सामाजिक परीक्षणमा सामुदायिक विकास केन्द्रले विभिन्न परियोजनाका उपलब्धिहरूलाई ग्यालरी प्रदर्शनी गर्नुका साथै विभिन्न शैक्षिक सामाग्रीहरू,दिपायलमा उत्पादन गरेको खुकुरी एवम् आरनका सामाग्रीहरू प्रदर्शनी गरिएको थियो ।
सामुदायिक विकास केन्द्र डोटीले विभिन्न ८वटा दातृसंस्थाका सहयोगमा विभिन्न १२ वटा परियोजना आर्थिक वर्ष ०८१/०८२ मा सञ्चालन गरेको कार्यक्रम संयोजक दिनेश बमले जानकारी दिए ।
बमका अनुसार शिक्षा क्षेत्रमा ४,महिला तथा बालबालिका क्षेत्रमा ३, आयआर्जनका क्षेत्रमा ३ तथा विपद् न्यूनीकरणका क्षेत्रमा २ परियोजना सञ्चालित छन् ।
संस्थाले ८ वटा साझेदारी संस्थाको सहयोगमा समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम,एकीकृत सामुदायिक विकास कार्यक्रम,सशक्त महिला समृद्ध नेपाल,सक्षम परियोजना ,उत्थानशील परियोजना, किशोरी सशक्तीकरण परियोजना,गुणस्तरीय सिकाइलागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, सामुदायिक सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजना लगायतका १२ परियोजनामा १६ करोड बजेट रहेको संस्थाका कार्यक्रम संयोजक बमले बताए ।
स्थानीय तहमा संस्थाले ३५ वटा नीति तथा निर्माणमा सहयोग गरेको बमले बताए । आर्थिक वर्षमा परियोजनाबाट ६७ हजार ५ सय २३ जना महिला,पुरुष ,छात्र र छात्रा लाभान्वित भएको संस्थाले सामाजिक परिक्षणमा विवरण सार्वजनिक गरेको हो ।
सिडिसिका विभिन्न परियोजनाहरूमा ७३ जना कर्मचारीहरू कार्यरत छन् ।
सुदूरपश्चिमका नौ वटा जिल्लाका ४४ वटा स्थानीय तहमा परियोजना सञ्चालन गर्दै आएको सामुदायिक विकास केन्द्रले हरेक वर्ष सामाजिक परीक्षण गर्दै आएको छ ।
संस्थाकी अध्यक्ष निर्मला राेस्याराकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका संयोजक सिंह,प्रमुख जिल्ला अधिकारी जोशी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भीम पनेरू,आदर्श गाउँपालिका र पूर्वीचौकी गाउँपालिकाका – १ वडा भरत बहादुर खड्का,अध्यक्ष अंक खड्का,नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम,गैसस महासंघका अध्यक्ष लाल विक, शिक्षक महासंघका अध्यक्ष पूर्ण खड्का,विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि,कार्यक्षेत्र रहेका पालीकाका शिक्षा शाखा प्रमुख‚साझेदारी संस्था वर्ल्ड भिजन‚गुड नेर्वसका प्रमुख,प्रतिनिधि,शिक्षक,बाल क्लब प्रतिनिधि,लाभान्वित वर्ग लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक परीक्षणको सहजीकरण सञ्चारकर्मी रश्मि कुँवरले गरेकी थिइन् ।