

भदौ ७ गते ,डोटी : डोटीमा दिल्पेश्वर क्रिकेट लिग -३ तथा सांस्कृतिक मेला हुने भएको छ ।
शनिवार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिल्पेश्वर स्पोर्ट्स क्लबले “दिल्पेश्वर क्रिकेट लिग -३” (डिसिएल) को तेस्रो संस्करण तथा सांस्कृतिक मेला आयोजना गर्न लागेको जानकारी गराइएको हो ।
हिन्दुहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गरेर असोज ६ गते देखि १२ गतेसम्म प्रतियोगिता आयोजना गरिने क्लब सदस्य तथा प्रवक्ता रामभक्त सुनारले बताए ।
उनका अनुसार प्रतियोगितामा सहभागी टिममा डोटी जिल्लाका ६ जना खेलाडी अनिवार्य हुनुपर्ने बताए । जिल्ला बाहिरका ५ जना खेलाडीहरू टिममा सहभागी हुन पाउने र खेलाडी विदेशी नागरिक भए दुई जनासम्म टिममा समेट्न सकिने उनले बताए ।
बाहिरका तथा विदेशी खेलाडीहरूको सहभागिता किन भन्ने सञ्चारकर्मीको जिज्ञासामा कुरा राख्दै सुनारले जिल्लाका खेलाडीहरूलाई सिक्ने तथा सँगै खेल्ने अवसर मिल्ने भएकाले सहभागिता गराउन लागिएको उनले बताए ।
उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडलसहित एक लाख ११ हजार एक सय ११ रहेको छ । द्वितीय पुरस्कार राशि ५१ हजार एक सय ११ रहेको छ । प्रतियोगितामा म्यान अफ द म्याच, वेस्ट बलर, वेस्ट ह्वाट्स म्यान, म्यान अफ द सिरिज लगायतका खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको पहिलो चरणमा नकआउट र दोस्रो चरणमा लिग सिस्टमले खेल खेलाइने छ । प्रथम चरणको विजेताले मात्रै लिग खेल्न पाउने छन् । टिम दर्ता शुल्क ७ हजार कायम गरिएको छ । इच्छुक खेलाडीहरूले असोज ३ गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ । असोज ५ गते टाई सिट सार्वजनिक गरिने छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न ७ वटा समिति गठन गरिएको छ ।
क्लबले दीर्घराज माझीको संयोजकत्वमा प्रतियोगिता आयोजक मूल समिति र मनोहर माझीको संयोजकत्वमा व्यवस्थापन समिति सहित अन्य उप–समितिहरू गठन गरेको छ ।
क्लबले उपाध्यक्ष लोकेश कठायतले पत्रकार सम्मेलनको समापनमा बोल्दै प्रतियोगितालाई सफल बनाउन विगतका दिन जस्तै सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।
प्रतियोगितामा २५-३० टिमको सहभागी रहने अनुमान गरिएको छ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित पाँच लाख ५० हजार रुपैयाँ खर्चको अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता दिपायल सिलगढी नगरपालिका– ३ मठ स्थित दिल्पेश्वर खेल मैदानमा आयोजना हुने छ ।
दुई वर्ष अगाडी दर्ता गरेको क्लबले भलिबल, क्रिकेट प्रतियोगिता, यहाँको कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

