Sujang

प्रेस युनियन डोटीको कार्यालयमा तोडफोड र चोरी : दोषी पहिचान गरी कारबाहीको माग

Ban

डोटी,भदौ २ : नेपाल प्रेस युनियन डोटी शाखाको कार्यालयमा अज्ञात समूहले तोडफोड र चोरी गरेको छ। आइतबार राति दिपायल पिपल्लामा रहेको युनियनको भवनको मूल ढोका तोडफोड गरी कार्यालयभित्र रहेका सामग्री चोरी गरिएको युनियनले डोटी शाखाले जनाएको छ।

घटनापछि नेपाल पत्रकार महासंघ डोटी शाखाले विज्ञप्ति जारी गर्दै यसलाई प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण भनेको छ। महासंघका सचिव विक्रम खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यो निन्दनीय कार्यले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।”

विज्ञप्तिमा पछिल्लो समय जिल्लाभरि बढिरहेका चोरी, डकैती र आपराधिक गतिविधिहरूले सामाजिक शान्ति सुरक्षा र कानुनी शासनलाई कमजोर पार्ने संकेत दिएको उल्लेख गरिएको छ।

Krishi

नेपाल प्रेस युनियन डोटी शाखाले समेत घटना प्रति घोर निन्दा व्यक्त गर्दै तत्काल सार्वजनिक सम्पत्ति तोडफोड तथा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।

प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवरको अध्यक्षतामा बसेको आकस्मिक बैठकले प्रेस युनियनको भवनको कार्यालयमा तोडफोड गर्ने कार्यको युनियनले घोर निन्दा र भर्त्सना गरेको छ । तोडफोड र चोरीमा संलग्नको पहिचान गरी तत्काल पक्राउ गरेर कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
यस प्रकारका आपराधिक गतिविधि सञ्चारकर्मीहरूलाई त्रसित पार्ने षड्यन्त्र हुनसक्ने आशंका समेत व्यक्त गरेको छ।

यसैबिच, नेपाल प्रेस युनियनको प्रदेश र केन्द्रीय कार्यसमितिले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन् र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

घटनाको तत्काल अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिनोद शर्माले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.