

साउन ३१ गते ,नेपालगन्ज : हजरत सामुदायिक बन, वडा नं. २३, नेपालगन्जमा आज एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण र हरित भविष्यको परिकल्पनासहित आयोजित उक्त कार्यक्रम क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड को आर्थिक सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन क्लिन अप नेपालका कार्यकारी निर्देशक रवीन्द्र लामिछानेको सभापतित्वमा तथा पूर्व मन्त्री मोहम्मद ईस्तियाक राईको प्रमुख आतिथ्यतामा गर्नु भएको हो।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकाल, नेपाली काँग्रेस बाँकेका जिल्ला सचिव सुधान्सु कोइराला, स्ट्यान्डर्ड चार्टर्ड बैंकका शाखा प्रमुख हर्मेस सोनी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै ८ Billion Trees का प्लान्टिङ डाइरेक्टर हेमन्त राज काफ्ले ले वृक्षारोपण कार्यक्रमको उद्देश्य वातावरणीय सचेतना अभिवृद्धि र समुदायमा वन सम्पदाको दिगो संरक्षणको महत्त्व बुझाउनु रहेको जानकारी दिनुभयो।

कार्यक्रममा पूर्व मन्त्री राई ले वन क्षेत्रको दिगो व्यवस्थापनमा राज्यको सक्रियता आवश्यक रहेको धारणा राख्दै, “रुख हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको स्रोत हो,” भन्दै वृक्षारोपणलाई व्यक्तिगत र सामाजिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
मेयर प्रशान्त विष्ट ले स्थानीय सरकारको तर्फबाट हरियाली विस्तार र वातावरण संरक्षणमा प्रतिबद्धता जनाउँदै यस्ता अभियानहरूलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो। त्यस्तै, शाखा प्रमुख हर्मेस सोनी ले निजी क्षेत्रको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउँदै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो।
प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य ले विद्यालय स्तरबाट जलवायु परिवर्तन र वातावरणीय सचेतनाका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू, समाजसेवी, जनप्रतिनिधि तथा समुदायका करिब २०० जना बढीको उल्लेखनीय सहभागिता रहेको थियो। वृक्षारोपण अन्तर्गत स्थानीय परिवेशमा अनुकूल महुवा, बररो, अमला, शिरीष, लिची, अम्बा, अर्जुन लगायतका २,००० भन्दा बढी बिरुवाहरू रोपिएका छन्।
कार्यक्रमले सामुदायिक वन संरक्षणमा स्थानीयको स्वामित्व र दिगो पहलको महत्त्वलाई पुनः स्मरण गराएको छ।

