

साउन २२,डोटी : डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–२, खुल्लेखमा चार युवाले सामूहिक रूपमा २०० रोपनी जग्गामा व्यावसायिक कृषि खेती सुरु गरेका छन्।
विभिन्न पेसामा संलग्न स्थानीय युवा शेर बोगटी, अमर बहादुर खड्का, भरत बोगटी र खगेन्द्र बोगटीले “पौरखी कृषि तथा पशुपन्छी फर्म” दर्ता गरी व्यावसायिक कृषि अभियान थालेका हुन्।
फार्मका सञ्चालक शेर बोगटीका अनुसार वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवालेहरुले यस वर्षदेखि व्यावसायिक रुपमा पहिलो चरणमा विभिन्न प्रजातिका १ हजार आँपका बिरुवा, ३ सय लिचीका बिरुवा र दुई सय केराको विरुवा रोपिएको बताए ।

कृषि ज्ञान केन्द्र डोटीले विरुवा उपलब्ध गराएको र अन्य खाल्डा खन्ने कार्य फर्मले गरेको उनले बताए ।
सिंचाइको लागि फार्ममा १ लाख लिटर क्षमता भएको पोखरी निर्माण गरिएको छ।

उक्त पोखरी निर्माणमा पनि ज्ञान केन्द्रको चार लाखको सहयोग रहेको सञ्चालकले जानकारी दिए।

पानी आपूर्तिका लागि ५ किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने भएकोले ३ किलोमिटर पाइपको लागी दिपायल सिलगढी नगरपालिकाले पाँच लाख आर्थिक सहयोग गरेको अर्का सञ्चालक अमर बहादुर खड्काले बताए।
फर्ममा फलफूलका विरुवा सँगै भैसीपालन, तरकारी खेती ,माछा पालन लगायतका कार्यलाई अगाडी बढाइने खड्काले बताए ।
विभिन्न प्रजातीका घाँसका आठहजार विरुवा समेत रोपण गरेको खड्काले बताए ।

फर्मका सञ्चालक शेर बहादुर बोगटीले भने, “आफ्नो माटोमा केही गर्नु पर्छ भन्ने सोचले हामी चार जना युवाहरू कृषि कर्ममा अग्रसर भएका हौँ।”

बिदेसिनुको सट्टा आफ्नै ठाउँमा केही नयाँ गर्ने दृढ इच्छाशक्तिले पौरखी कृषि तथा पशुपन्छी फर्म स्थापना गरिएको उनले बताए । युवाहरूको सामूहिक प्रयासले कृषि क्षेत्रमा आत्मनिर्भरता र रोजगारीको सम्भावना देखिएको उनले बताए।
बुधवार एक कार्यक्रमका बिच फर्मको औपचारिक उद्घाटन गरिएको थियो।

कार्यक्रममा फार्म स्थापनामा सहयोग पुर्याउने व्यक्तिहरू तथा संस्थालाई सम्मानित पनि गरिएको थियो।

उक्त कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले कृषि क्षेत्रमा साहसका साथ लागेका युवाहरूलाई स्थानीय सरकारले आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले कृषिलाई आधुनिक, व्यावसायिक तथा आत्मनिर्भर बनाउने प्रक्रियामा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
उक्त कार्यक्रममा बोल्दै कृषि अनुसन्धान कार्यालय भागेतडाका प्रमुख दीपक पाण्डेले व्यवसायी रूपमा कृषि खेतीमा लागेका युवाहरूलाई प्रोत्साहनका लागि सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रम कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका–२ का वडा अध्यक्ष राजेन्द्र खड्काले वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले युवाहरूको कृषि तथा पशुपालनप्रतिको लगाव सराहनीय रहेको भन्दै यस्तो प्रयासलाई प्रवर्द्धन गर्न स्थानीय तह सदैव तयार रहने बताए।
पौरखी कृषि तथा पशुपन्छी फर्मको उद्घाटन तथा सम्मान कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले दुई सय रोपनी जमिनमा कृषि कार्य गरिरहेका युवाहरूको समूह प्रेरणाको स्रोत भएको बताए।
उनले युवाहरूको लगनशीलता र कृषिमा देखाएको समर्पणले जिल्लामै नमुना कायम गरेको उल्लेख गर्दै अन्य युवाहरूलाई पनि कृषिमा आकर्षित हुन आग्रह गरे।
नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले युवाहरूको सामूहिक प्रयास, कृषिमा लगाव, र आत्मनिर्भरतातर्फको कदम जिल्लाको अन्य युवाहरूका लागि पनि नमुना र प्रेरणा बन्न सक्ने बताए ।
पौरखी कृषि तथा पशुपन्छी फर्ममा अहिलेसम्म ६० लाख वरावरको लगानी लगाई सकेको वताईएको छ।

