

असार ३२ गते,डोटी :स्वास्थ्य कार्यालय डोटीको आयोजनामा स्वास्थ्य कार्यक्रमको प्रगति तथा सूचना प्रवाहबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मंगलवार स्वास्थ्य कार्यालय डोटीको सभा हलमा स्वास्थ्य कार्यक्रमको प्रगति तथा सूचना प्रवाहबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा सञ्चालित मुख्य स्वास्थ्य कार्यक्रमहरूको विवरण प्रस्तुत गरेका थिए ।
उहाँले मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप सेवा, पोषण सुधार, रोगको रोकथाम तथा नियन्त्रण, र जनचेतनामूलक कार्यक्रमहरूमा हासिल प्रगति, सबल पक्ष तथा आगामी योजना ,समस्या चुनौतीहरू समेत प्रस्तुत गरेका थिए ।

स्वास्थ्य कार्यालयले निःशुल्क रूपमा विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोग सम्बन्धी अभियान ,पानी परीक्षण तथा निगरानी , प्रत्येक स्वास्थ्य संस्थामा मासिक बैठक तथा सिकाई आदानप्रदान , प्रत्येक स्वास्थ्य संस्थामा गार्डेन सौन्दर्यीकरण अभियान , प्रोत्साहन कार्यक्रम ,पेपर लेस अभियान ,अन्तर पालीका समन्वय बैठक लगायतका कार्यक्रमलाई समेत अगाडी बढाई रहेको प्रमुख मलासिले बताए ।
नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले स्वास्थ्य कार्यालयले स्वास्थ्यका क्षेत्रमा गरेका उत्कृष्ट कार्यको प्रशंसा गर्दै अझै स्वास्थ्यका क्षेत्रमा उल्लेख सुधार गर्दै अगाडी बढ्न सुझाव दिए ।

अध्यक्ष बमले स्वास्थ्य बिमा कार्यक्रम, नसर्ने रोग अभियान , पानी परीक्षण निगरानी ,कीट जन्य रोग, औषधि अभाव, स्वास्थ्य सेवाको पहुँच विस्तार लगायतका विषयमा विशेष जोड दिनुपर्ने बताए ।
स्वास्थ्य सेवामा सूचनाको प्रवाहलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै, “विश्वसनीय र समयमै प्राप्त सूचना जनस्वास्थ्य सुधारको आधार हो,” अध्यक्ष बमले भन्नुभयो।
कार्यक्रम सहभागीहरूले स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन सेवा, खानेपानीको गुणस्तर, गाउँ गाउँमा चिकित्सकको अभाव, औषधि अभाव, स्वास्थ्य सेवाको पहुँच र बजेट कार्यान्वयनको अवस्था लगायत विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा मलासीले सहभागी सबैप्रति आभार व्यक्त गर्दै यस्ता अन्तरक्रियाबाट स्वास्थ्य सेवा र सञ्चार बिचको समन्वय अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
अन्तक्रिर्या कार्यक्रममा सञ्चारकर्मी र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरू सहभागी थिए।


