

असार ३० गते,डोटी : दिपायल सिलगढी नगरपालिकाले नगर भित्र माध्यमिक शिक्षा परीक्षा एसइई(SEE), २०८१ मा उत्कृष्ट हुने विद्यालय र बिद्यार्थीहरुलाइ सम्मान गरेको छ ।
सोमबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बिच नगरले उत्कृष्ट विद्यालय र बिद्यार्थीहरुलाई सम्मान गरेको हो ।
उत्कृष्ट सतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा सुजङ्ग इङ्लिस बोर्डिङ स्कुल राजपुर ,दिपायल एकेडेमी स्कुल दिपायल र खप्तड इङ्लिस बोर्डिङ स्कुल दिपायललाई सम्मान गरेको हो ।
त्यसै गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीतर्फ नगरपालिकामा मात्रै नभएर जिल्लामै उत्कृष्ट नतिजा ल्याउने पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयकि छात्रा कञ्चन पाली ( ३.९६ जिपिए) ल्याई प्रथम, नगरमा दितृय भागरथी एकेडेमी सिलगढीका अरुण भण्डारी (३.८७ जिपिए) र तृतीय सुजङ्ग बोर्डिङ स्कुल राजपुरका सन्तोष बहादुर जोरा (३.८३ जिपिए) लाई सम्मान गरिएको छ।
सम्मानित विद्यालयलाई प्रशंसा पत्र,दोसल्ला र विद्यार्थीहरूलाई प्रशंसा पत्र ,दोसल्ला र नगद सहित सम्मान गरिएको थियो ।
उक्त सम्मान कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले उत्कृष्ट हुने विद्यालय र बिद्यार्थीहरु बधाई ज्ञापन गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रमा अझै राम्रो प्रगति गर्न सुझाव दिए।
नगरले पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शैक्षिक गुणस्तर सुधार तथा शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको बताए ।
शिक्षा विना अन्य कुराको परिकल्पना गर्न नसकिने बताउँदै गुणस्तरीय शिक्षाका लागि नगर सरकार निरन्तर लागी रहेकाले यसमा सबै सरोकारवालाहरूको पनि सहयोग आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले सम्मानित हुने विद्यालय र विद्यार्थीहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमले विद्यार्थी र विद्यालयलाई थप हौसला मिल्ने बताए ।

शिक्षामा परिवर्तन ल्याउन पूर्वाधार, प्रशिक्षण, पढाइ सँगै प्रशंसा अथवा पुरस्कार जस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा अध्यक्ष बमले जोड दिए ।
शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउन सुरुको कक्षा देखि नै सबै सरोकारवालाले लाग्नुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकारले समाज रूपान्तरण गर्न सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको शिक्षा भएकोले शिक्षालाई प्राथमिकताकारसाथ नगरले अगाडी बढाएको बताए ।
यस्ता सम्मान कार्यक्रमले अरू विद्यार्थी र विद्यालयहरूलाई उत्कृष्ट हुन,प्रतिस्पर्धामा ल्याउन सक्ने अपेक्षा रहेको शिक्षा शाखा प्रमुख लक्ष्मीराज ओझाले बताए । शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक गतिविधिलाई प्राथमिकता साथ आगामी दिनमा अगाडि बढाइने उनले बताए ।
दिपायल सिलगढी नगरपालीका वडा नम्बर -६ का वडा अध्यक्ष नरेश मलासिले शिक्षाको लगानीमा जोड दिनुपर्ने बताए।
सम्मान ग्रहण पश्चात् बोल्दै दिपायल एकेडेमी स्कुल दिपायलका सञ्चालक दीर्घ नेगीले यस्ता सम्मान कार्यक्रमले आगामी दिन अझै काम गर्ने थप प्रेरणा मिलेको बताए । स्थानीय सरकारको सक्रियता र प्रोत्साहनले शिक्षा क्षेत्रको रूपान्तरण सम्भव रहेको उनले बताए ।
उत्कृष्ट विद्यार्थी कञ्चन पालीको सम्मान ग्रहण गर्दै उनका बुवा झलक पालिले छोरीको हौसला प्रदान गर्न स्थानीय सरकारले गरेको सम्मानका लागि धन्यवाद व्यक्त गरे ।
उनले भने ,’छोरीले आज जुन सम्मान प्राप्त गरिन्, उनको मेहनत, शिक्षकहरूको मार्गदर्शन, विद्यालयको समर्पण ,स्थानीय सरकारको सहयोग, अभिभावकको निरन्तर साथको परिणाम हो ।’