

असार २३ गते ,डोटी : डोटीमा माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ , २०८१ मा उत्कृष्ट हुने विद्यालय र बिद्यार्थीहरुलाइ सम्मान गरिएको छ ।
सोमबार शिक्षा विकास समन्वय इकाई डोटीको आयोजना र सामुदायिक विकास केन्द्र डोटीको सहकार्यमा सम्मान कार्यक्रम गरिएको हो ।
२०७३ साल देखि एसइई परीक्षाको लागू भए पश्चात् अहिलेसम्म विभिन्न दिवसहरू मनाउने, जिल्लामा पहिलो हुने र दोस्रो हुने विद्यार्थीलाई मात्रै सम्मान गर्ने गरेको भए पनि पहिलो पटक यश वर्ष नयाँ तरिकाले सम्मान कार्यक्रमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भीमप्रसाद पनेरूले बताए ।
सम्मान कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूमा सिताराम माद्यामिक विद्यालय उच्चाकोट डोटी, सुजङ्ग इङ्लिस बोर्डिङ स्कुल राजपुर डोटी, दिपायल एकेडेमी स्कुल दिपायल डोटी, खप्तड इङ्ग्लिस बोर्डिङ स्कुल दिपायल डोटी रहेका थिए ।
त्यसै गरी जिल्लामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तर्फ पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढी डोटीबाट कञ्चन पाली, भागरती एकेडेमी सिलगढी डोटीबाट नीराजन भण्डारी र सुजङ इङ्लिस बोर्डिङ स्कुल राजपुर डोटीबाट प्रश्ना देउवा रहेका थिए ।

गत वर्ष भन्दा यो वर्ष जिल्लामा राम्रो नतिजा आएकोले २०८१ मा नियमित तर्फबाट परीक्षामा सहभागी भई सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरू र विद्यार्थीहरूलाई सम्मानित गरेको हो ।
अब आफैमा मात्रै सीमित नभएर अरू विद्यालयलाई पनि सल्लाह, सुझाव दिनुपर्ने सिडिसि डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले बताए । उनले डोटीमा अब शिक्षा परिवर्तन गर्न फरक तरिकाले लाग्नुपर्ने उनले बताए ।
गत वर्ष सुदूरपश्चिम प्रदेशमै सबै भन्दा कमजोर नतिजा आएकोले यो वर्ष शिक्षक, विद्यार्थी र अभिभावक सबैको प्रयासले यश वर्ष राम्रो नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख पनेरूले बताए ।
शिक्षामा परिवर्तन ल्याउन पूर्वाधार, प्रशिक्षण, पढाइ, प्रशंसा अथवा पुरस्कार जस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न विद्यालयलाई सम्मान गरिएको पनेरुले बताए ।
सम्मानले अरू विद्यार्थी र विद्यालयहरूलाई उत्कृष्ट हुन प्रतिस्पर्धामा ल्याउन सक्ने अपेक्षा रहेको उनले बताए ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकाहरूको हकमा अहिले सम्म सोचे अनुसार नतिजा नआएकाले सन्तुष्ट नभएको बताए । समाज रूपान्तरण गर्न सबै भन्दा महत्त्वपूर्ण शिक्षा भएकोले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले जोड दिए ।
अब परीक्षा गराउँदा सम्बन्धित विद्यालयका विद्यार्थीलाई आ-आफ्नै विद्यालयमा परीक्षा केन्द्र हुने गरी सम्बन्धित विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा पठाउने नियम बनाउन जिल्लामा प्रस्ताव राख्ने उनले बताए ।

