

असार १२, डोटी : डोटी जिल्ला सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाको रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ बिहीबार डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिद्वारा सिलगढीमा आयोजित एक समारोहका बिच डोटी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डाक्टर खगेन्द्र बहादुर बमले प्रमाणपत्र प्रदान गर्नुभयो । डोटी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको पाँचौँ पटक हो ।
जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
१५ महिना मुनिका बालबालिकाको संख्या ३ हजार ४ सय ५३ रहेको र उनीहरूमध्ये शून्य खोप लगाउनेको संख्या पनि नभेटिएको मलासीले जानकारी दिए ।
जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या १० हजार ४ सय १५ जना रहेको र त्यसमध्ये खोपको शून्य डोज लगाउन छुटेका ६ जना र आंशिक खोप लगाउन छुटेका एक सय १२ जना बालबालिकाहरूको खोजी गरेर खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक डिल्ली रमण जोशीले बताए ।
पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनुपर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिका जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिंह खड्काले बताए ।
सबै स्वास्थ्यकर्मीको सहयोग र सक्रियताले जिल्लालाई नै घोषणा सम्भव भएको शिखर नगरपालिका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए ।
बालबालिकाले सही समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर लगायत घटेको के आई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए । आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्य सञ्चालन गर्नुपर्ने उनले बताए ।

खोप सेवा नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम रहेकोले अभियानका रूपमा अगाडी बढाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्य खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक खगेन्द्र बमले बताए ।
खोपले कार्यक्रमले गर्दा बाल मृत्युदर, अपाङ्गता, पोलियो लगायतका क्षेत्रमा निक्कै सुधार तथा प्रभावकारी भएको नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले बताए ।
सुदूर पश्चिमको पहिलो जिल्ला घोषणा भए सँगै अन्य क्षेत्रमा पनि प्रथम हुने तर्फ सबैले जोड दिनुपर्ने बताए ।
जिल्ला खोप समन्वय समिति डोटीका अध्यक्ष तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि, सङ्घसंस्था लगायत सबै सरोकारवालालाई धन्यवाद दिए । यो वर्ष प्रदेशकै पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले पुरै स्वास्थ्यका क्षेत्रमा डोटीलाई पहिलो बनाउने गरी काम गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा खोप कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नौ वटै पालिकाका एक/एक जना स्वास्थ्यकर्मी, नौ वटै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय डोटीका एक जना कर्मचारी लगायतकालाई सम्मान गरिएको थियो । खोप कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघ संस्था र व्यक्तिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।
यस वर्ष डोटीको पहिलो वडा शिखर -१० र पालिकाका रूपमा शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको थियो ।
जिल्लाका २ सय ३८ खोप केन्द्रबाट प्रत्येक महिनाको ९ गते देखि १३ गते सम्म खोप प्रदान गर्दै आएको स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक जोशीले बताए ।
डोटीलाई विसं २०७५ जेठ १९ गते पहिलो पटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । सोही वर्षदेखि प्रत्येक वर्ष निरन्तर घोषणा गरिँदै आएको छ ।


