

धन बोहरा,जेठ २० गते :डोटीमा स्थानीय उत्पादनको प्रवर्द्धनसँगै विद्यालयमा पोषणयुक्त खाजा व्यवस्था गर्नका लागि सरोकारवाला निकायहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्थानिय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमको प्रभावकारिता, दिगोपनाका सम्भावना र कार्यान्वयनको मोडालिटीबारे गहन छलफल गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले विद्यालयहरूमा दिइने खाजामा स्थानीय उत्पादनको समावेशीकरण गर्न सकेमा यसले गाउँगाउँमा कृषि उत्पादनलाई समेत प्रोत्साहन गर्ने धारणा व्यक्त गरे ।
उहाले विद्यालयको खाजामार्फत गाउँको बाली स्कुलसम्म पुर्याउन सके कृषकलाई बजारको सुनिश्चितता हुने बताउदै यस्तो प्रयासले शिक्षा, स्वास्थ्य र कृषि तीनै पक्षमा योगदान पुर्याउनेसमेत बताए ।

डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण स्तर उकास्न यस्तो पहल आवश्यक रहेको बताए । उहाँले सरकारी तथा स्थानीय तहको समन्वयमार्फत कार्यक्रमलाई दिगो बनाउने सुझाव दिए ।
कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले उत्पादनमा विविधता ल्याउँदै विद्यालयस्तरमै खपत हुने गरी जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै स्थानीय आपूर्तिमै आधारित खाजा कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए।
“हामीसँग किसान छन्, उत्पादन पनि छ – विद्यालयले नियमित खाजा चाहिन्छ, त्यसैले यो संयोजन सम्भव र आवश्यक दुवै हो,” अवस्थीले भन्नु भयो।
उक्त अन्तरक्रियामा सहभागी पालिका प्रमुखहरूले पनि कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यो पहल सफल भएमा विद्यालय खाजामार्फत पोषण सुधारसँगै स्थानीय कृषि अर्थतन्त्रलाई गतिशील बनाउने सम्भावना बलियो देखिएको छ। कार्यक्रमले गाउँस्तरीय कृषि उत्पादनलाई बजार दिनुका साथै बालबालिकाको स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

