

जेठ ५, डोटी: दिपायल सिलगढी नगरपालिका-६ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सोमवार सिलगढी नगरपालिका वडा नम्बर ६ ले बाल मन्दिर आधारभूत विद्यालयका एक सय पाँच जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यार्थीलाई वितरण गरिएको शैक्षिक सामग्रीमा स्टेसनरीका सामान तथा स्कुल ब्याग रहेको वडाका अध्यक्ष नरेश मलासीले जानकारी दिए । बाल मन्दिर आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीहरू आर्थिक हिसाबले विपन्न अवस्थाका परिवारका रहेका छन् । बालबालिकाहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री सहयोग गरिएको वडा अध्यक्ष मलासीले बताए ।
वडाबाट गरिएको शैक्षिक सामाग्री सहयोगले राज्यको निःशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी नीतिलाई मूर्त रूप दिन मद्दत पुग्ने कार्यक्रमका प्रमुख अतिथि डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । विद्यालयमा आउने विद्यार्थीहरू कसैले पनि पोसाक र स्टेसनरी अभावले पठनपाठनमा समस्या नहोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण महत्त्वपूर्ण भएको जोशीले बताए । स्थानीय तह र अन्य सरोकारवालाहरूले शैक्षिक वातावरण सुधारका लागि वार्षिक नीति, कार्यक्रम र बजेटमा राखेर निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय डोटीका प्रमुख महेश अवस्थी, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम,वडाका जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
