

जेठ २ गते,डोटी :जन्मदिनको अवसरमा साजेन्द्रश्वर माध्यमिक विद्यालयमा अध्ययनरत रहेका दृष्टिविहीन विद्यार्थीहरूलाई सहयोग गरिएको छ।
सुजङ अस्पताल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरूलाई ट्रयाक सुट,चस्मा,घडि र नगद सहयोग गरेका हुन् ।
बिहीबार जन्मदिनको अवसर पारेर केआईसिंह गाउँपालिका नेपाली काँग्रेसका सभापति समेत रहेका बलायरले छात्रावासमा पुगेर त्यहाँ रहेका दृष्टिविहीन विद्यार्थीहरूलाई सहयोग गरेका छन् ।
नगद पाँच हजार विद्यालयका प्रधानाध्यापक खडक बहादुर खड्कालाई बलायरले हस्तान्तरण गरेका हुन् ।
जन्मदिनमा फजुल खर्च गर्दै उत्सवको रूपमा मनाउनु भन्दा समस्या परेकाहरूलाई सहयोग गरेमा थोरै भए पनि राहत पुग्ने बलायरले बताए ।
हरेक जन्मदिन लगायतमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा वञ्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको उनले बताए ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक टेक बहादुर बोगटीले जन्म दिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद दिए ।
अहिले पनि हाम्रो समाजमा दृष्टिविहिनीनलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएकोले गाउँघरमा रहेका फरक क्षमता भएकाहरूलाई विद्यालयमा पठाउन सहयोग गरिदिन उनले सबैमा अनुरोध गरे ।
विद्यालयले २०५२ साल देखि आवासीय रूपमा दृष्टि विहीन विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको विद्यालयका प्रअ खड्काले बताए । आवासीय विद्यालय भए पनि राज्यले मासिक सबै खर्चका लागि भनेर चार हजार उपलब्ध गराउने गरेको बताउँदै उक्त रकमले अहिलेको समयमा शैक्षिक सामग्री लगायत पुर्याउन समस्या भएको बताए । विभिन्न सामाजिक संघसंस्था र मनकारी व्यक्तिका कारण उहाँहरूलाई थप सहयोग पुग्दै आएको उनले बताए ।
