

वैशाख ४ गते ,डोटी : डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ ।
जिल्लाको शिखर नगरपालिका –२ कालागाडमा र दिपायल सिलगढी नगरपालिका – ५ वाटुलाखानमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको हो ।
कृषि ज्ञान केन्द्र डोटीले दिपायल सिलगढी नरपालिका र शिखर नगर पालिकासँगको समन्वयमा मेसिनबाट धान रोप्न कार्यलाई अगाडी बढाएको ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले बताए ।
शिखर नगरपालिका – २ कालागाडमा बुधवार र दिपायल सिलगढी नगरपालिका – ५ वाटुलाखानमा बिहीबार मेसिनको प्रयोगबाट चैते धान रोपिएको उनले बताए ।
कृषि कार्यका लागि जनशक्ति नपाइने अवस्था भएको बेला आधुनिक कृषि उपकरणहरूको प्रयोग गरी कृषि कार्यलाई सहज बनाउने उद्देश्यका साथ मेसिनको परीक्षण गरिएको ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले बताए।
उपकरणको प्रयोगले एकातिर श्रमिक नपाइने समस्या समाधान हुने र अर्कोतिर लागत पनि कम हुने प्रमुख अवस्थीले बताए ।
मेसिनको प्रयोगले बिउ पनि कम लाग्ने र झण्झट पनि कम हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने उनले बताए ।
तराईका जिल्लाहरुमा मेसिनको प्रयोग फस्टाउँदै गएको भए पनि पहाडी जिल्लामा गत वर्ष देखि मेसिन वाट धान रोप्ने परीक्षण सफल भएकाले यस वर्ष अन्य ठाउँमा समेत मेसिनको प्रयोग गरिएको बताए ।
चैतमै रोप्नु पर्ने धान गहुँ बाली भित्राउन ढिलो भएको र चाँडवाडका कारणले वैशाख सुरुमै रोप्न लागिएको अवस्थीले बताए ।
जिल्लाको शिखर नगरपालिकाको —२ कालागाड, डकायल र दिसिनपा —५ वाटुलाखानमा गरेर ८ हेक्टर जमिनमा मेसिन र हातवाट चैते धान रोपिएको उनले बताए ।
बुधवार चैते धान रोपाकाईको शुभारम्भ गर्दै शिखर नगरपालिकाका प्रमुख दीर्घवहादुर बलायरले कृषि उत्पादनमा वृद्धि गरी स्वरोजगार बन्नु आजको आवश्यकता भएको बताए ।
नगरपालिकाले कृषिमा आधुनिकीकरणका लागि सक्दो सहयोग गर्ने बताए ।
बिहीबार दिपायल सिलगढी नगरपालिका भित्र पहिलो पटक वाटुलाखानमा मेसिनबाट चैते धान रोप्ने कार्यको शुभारम्भ गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्काले कृषिमा आधुनिकीकरण गर्न सके मात्रै नेपाल आत्मनिर्भर हुन सक्ने बताए । प्रविधिको युगसँगै अब सबै किसानहरूले प्रविधिसँग अभ्यस्त हुनु जरुरी रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले कृषिमा आधुनिकीकरण गर्न मेसिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
मेसिनको प्रयोगबाट कृषकहरूलाई सहज हुने स्थानीय अगुवा किसान जगत बहादुर विष्टले बताए ।
उपकरणको प्रयोगबाट परिश्रम पनि कम गर्नुपर्ने र थोरै समयमा धेरै धान रोप्न सकिने भएका कारण कृषकलाई यस्ता आधुनिक उपकरणहरू आवश्यकता रहेको कृषक रने धामीले बताए ।
गोरुको सट्टा हाते ट्याक्टर (पावर ट्रेलर) प्रयोग गर्दा धेरै सहज भएको धामीले बताए ।
