

चैत २५, डोटी । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजेको समयमा जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथान स्थित दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । जनजागरण सामुदायिक वनको सडीगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार मिनी ट्रक आफै अनियन्त्रित भएर सडक किनारामा पल्टिदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षका सन्तोष गुरुङको मृत्यु भएको हो ।
गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमै मृत्यु भएको र सोही ट्रकमा सवार रहेका सामुदायिक वनका अध्यक्ष लोक बहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकी मुलिचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका–३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिए ।
ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका वर्ष २९ का गोपाल बडेला फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।