

चैत २४ गते: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आइतबार मागपत्र बुझाइएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेकपा (एमाले) सहितका जिल्लास्थित प्रतिनिधिमण्डले क्याम्पसको आवश्यक भौतिक पूर्वाधार निर्माणसहित अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट निर्माणमा प्राथमिकता दिन आग्रह गरेका हुन् ।
मागपत्र बुझाउन पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्य गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का , पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यय, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा (एमाले) का जिल्ला अध्यक्ष मञ्जु मलासीलगायतका बालुवाटार पुगेका थिए ।
दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहतमा डोटी प्राविधिक आङ्गिक क्याम्पसका रुपमा सञ्चालन हुने तयारी भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा ध्यानाकर्षण गरेका हुन्।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गृहमन्त्री एवं काँग्रेसका नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताउँदै पुरानो गौरवपूर्ण इतिहास बोकेको डोटी विकासमा पछाडि परेको विषयमा आफू जानकार रहेकाले अब प्राथमिकतामा पर्ने विश्वास दिलाए।
प्रधानमन्त्री ओलीले थालेका काम पूरा गर्ने र बजेट विनियोजन गर्दा स्रोत सुनिश्चितता गरेर मात्रै गर्न लागिएको उल्लेख गर्दै खप्तड इञ्जिनियरिङ क्याम्पस पूर्वाधार निर्माण गर्दा छात्रावास अनिवार्य बनाउन सकिए टाढा टाढाका विद्यार्थी त्यहीँ बसेर पढ्न सक्ने बताए।