

चैत १७ गते,डोटी :नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताउनुभएको छ । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आईतवार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उहाँले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताउनुभयो ।
“हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो”, उहाँले भन्नुभयो, “गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाईदैन । कडा कानुन छ । यसलाई अझै कडाईका साथ लागु गर्नेछौं ।”
माघे संक्रान्तिका दिन स्नान गर्नेको घुुईचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठूलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्वपूर्ण ठाउँ भएको बताउनुभयो । “हाम्रो बाजे पूर्खाहरुको चिहान हो”, उहाँले भन्नुभयो, “उहाँहरुलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरि पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।”
सेती नदी र सकायल नदी गाडको संगमस्थल विभिन्न ऋषि मूनीहरुले तपश्या गरेको पवित्र स्थान भएको बताउँदै उहाँले यहाँ हुने मेला र पूजाहरुमा धेरै पटक आफू पुगेको स्मण गर्नुभयो । गहानान क्षेत्रकै माथि डाडोमा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झदै उहाँले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरुको पवित्र स्थलमा रुपमा गहनान रहेको बताउनुभयो ।
यहाँ विभिन्न देवताका मन्दिरहरु छन् । उहाँले भन्नुभयो, “घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो ।” घण्टेश्वर यताका मान्छेहरु अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पुर्खौंदेखि रहिआएको उहाँले बताउनुभयो ।
धार्मिक पर्यटन प्रवर्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ ।
गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म ‘श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१’ आयोजना गरेको हो ।