


गणेश बहादुर मौनि, माघ १८,डोटी: सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख नजिर मियाँले तिनै तहका सरकार बिच समन्वय सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले नाटककार पहलमानसिंह स्वारको सम्मानमा डोटीको सिलगढीमा शुक्रवार आयोजना गरेको सुदूरपश्चिममा साहित्यिक पत्रकारिता अवस्था र चुनौती विषयक बिचार विमर्श तथा बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाले उक्त कुरा बताएका हुन् ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाले तिनै तहका सरकार बिच एक आपसमा समन्वय सहकार्य हुन आवश्यक छ, तब मात्र सबै तहका सरकार बलियो हुन्छन् विकासले गति लिई दिगो विकास हुने बताए ।
प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त पश्चात् सुदूरपश्चिममा आउनु भएका प्रदेश प्रमुख मियाले सुदूरपश्चिम नामको सुदूरपश्चिम मात्र नभई यहाँको एकता,सत भाव हेर्दा साचीकै सुन्दर पश्चिम आएको अनुभूति भएको बताए । उनले भने सुदूरपश्चिम प्रकृतिको खानी छ यहाँ आआफ्नै प्रकारका कला, संस्कृति, भेष भूषा रहेका छन् देउडा, गजल, हुड्केली, फाँक, बिसु, कौणा, पञ्चेबाजा, जस्ता आफ्नै संस्कृतिले भरपूर्ण छ, त्यसैले यिनीहरूको जर्गेना गर्नु राज्यको दायित्व रहेको समेत बताए । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतका विभिन्न स्थानबाट साहित्यिक स्रष्टा बोलाई सम्मान गरेको प्रशंसा गदै साहित्यिक स्रष्टाको सदैव सम्मान गर्न आवश्यक रहेको समेत बताएका थिए ।
दिपायल सिलगढी नगरपालिका र नेपाली लेखक सङ्घ डोटीको सहकार्यमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश र भारतका विभिन्न क्षेत्रका साहित्यकारहरूले आ आफ्नो प्रस्तुति राख्नुका साथै सुदूरपश्चिममा साहित्यिक पत्रकारिता अवस्था र चुनौती र प्रदेशको बहुभाषिक स्थितिबारेमा कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकारिता र भाषाका क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको नेपाली लेखक सङ्घ डोटीका अध्यक्ष फणीन्द्र साउदले बताए ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टी एन जोशीको अध्यक्षतामा सञ्चालन भएको सङ्गोष्ठीमा डोटी जिल्लाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओली र प्रदेश सभा सदस्य चक्र मल्ल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, संस्कृत बिद, साहित्यिक स्रष्टा , नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
